बंगलादेश एक्स्पो २०१६

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा यही जनवरी २१ देखि २५ सम्म बंगलादेश एक्स्पो २०१६ हुने भएको छ ।

गत वैशाख १२ र त्यसपछिका भूकम्पका कारण मुलुकको अर्थतन्त्र वर्ष भरी नै समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको बेला नेपाल सरकारले व्यापार बिस्तारका लागि उपयुक्त माध्यमहरुको पहिचान गरि त्यसलाई अघि सार्ने योजना बनाएको छ ।

यही पृष्ठभूमीमा नेपालका लागि बंगलादेशी राजदुतावासले यहि माघ ७ गते बिहीबारदेखि माघ ११ गते सोमबार (तदनुसार २१ जनवरीदेखि २५ जनवरी) सम्म बंगलादेश एक्सपो २०१६ को आयोजना गर्ने भएको हो ।
सिन्थेसिस एक्जिवसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने एक्स्पोमा बंगलादेशका व्यवशायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रि बितरण गर्नेछन् ।

विभिन्न विधाका उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, जुट तथा जुटजन्य उत्पादन, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री एक्सपोको आकर्षणका रुपमा रहने छन् ।
त्यसै गरी हस्तकलाका उत्पादन, कृषि जन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ ।
सोही विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलन बंगलादेशका राजदुत मसफि बिन्ते साम्सले द्वदेशीय व्यापार बिस्तारका लागि एक्सपोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
बंगलादेशले सन् २०३० सम्ममा ३० हजार मेगावाट विद्युत खपत गर्ने योजना बनाए अनुसार नेपालबाट ५ हजार मेगावाट विद्युत आयातका लागि बंगलादेश तयार रहेको र यसका लागि बंगलादेशी विद्युत उत्पादन कम्पनीले नेपाल भ्रमण गर्ने पनि जानकारी उनले गराए ।

एक्स्पोमा नेपालका तर्फबाट पनि व्यवशायीहरुले बंगलादेशमा आयात गर्न चाहनेहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि बितरण गर्ने छन् । जसले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बंगलादेशसम्म पुर्याउन र नेपाली उत्पादन निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने छ । यसका अलावा पछिल्लो समय विकास भएका प्रविधिको नेपाल र बंगलादेशबीच साटासाट गर्न पनि एक्स्पोले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।