‘लेटर ग्रेडिङ्’ प्रणालीको सम्पूर्ण तयारी पुरा भइसकेको

माघ ५, काठमाडौँ –परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका परीक्षा(एसएलसी) मा लागु हुने ‘लेटर ग्रेडिङ्’ प्रणालीको सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियन(एनप्याव्सन) केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकमा आज परीक्षा नियन्त्रक खगेन्द्र नेपालले सरकारले यसै वर्षको एसएलसीका लागि सुरु गर्ने भनेको ‘लेटर ग्रेडिङ्’ का लागि सम्पूर्ण भौतिक तयारी पुरा गरिसकेकाले कुनै खालको अवरोध नरहेको बताए ।
सन् २००२ देखि नै यो प्रणाली लागु गर्नुपर्ने कुरा उठाएपनि हालसम्म विविध कारणले सो प्रणाली लागु हुन नसकेको भन्दै उनले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिस्तरमा पु¥याउन पनि यो प्रणाली आवश्यक रहेकोमा जोड दिए ।
एनप्याव्सनका अध्यक्ष कर्णबहादुर शाहीले यो प्रणालीप्रति शिक्षक र अभिभावक अन्यौलमा रहेको बताउँदै सरकारले यसका लागि सम्बन्धित निकायसँग पर्याप्त छलफल नगरेको गुनासो गरे ।
सरकारले लागु गर्न लागेको विद्यालय क्षेत्र विकास कार्यक्रमले निजी विद्यालयलाई सम्बोधन नगरेको भन्दै उनले ३० प्रतिशत निजी विद्यालयलाई बेवास्ता गरी कुनै पनि कार्यक्रम ल्याउँदा त्यो सफल हुन नसक्ने बताए ।
एनप्याव्सनका सल्लाहकार सूर्यबहादुर अधिकारीले ‘लेटर ग्रेडिङ्’ सम्बन्धी अन्यौलतालाई चिर्न यसबारे सरोकारवालासँग व्यापक छलफल चलाउन सुझाव दिए ।