कहाँ के गर्दैछन् जनयुद्ध सुरु गर्ने नेता

माघ ४, काठमाडौं – १. पुष्पकमल दाहाल ‘प्रचण्ड’
१ फागुन ०५२ मा जनयुद्ध सुरु गर्दा नेकपा (माओवादी)का महामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । कास्कीको ढिकपोखरीमा २६ मंसिर २०११ मा जन्मिएका उनी जनयुद्ध सुरु गर्दा ४१ वर्षका थिए । सेक्टर काण्डपछि मोहन वैद्य ‘किरण’ले महामन्त्रीबाट राजीनामा दिएपछि ०४६ मा नेकपा (एकता केन्द्र)का महामन्त्री भएका उनी ०५१ मा राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम परिवर्तन गर्दै नेकपा (माओवादी) बनाए । र, जनयुद्धको कार्यदिशा तय गरेर अगाडि बढे । ०६४ को संविधानसभा निर्वाचनमा एकीकृत माओवादीलाई सबैभन्दा ठूलो पार्टी बनाएर २ भदौ ०६५ मा प्रधानमन्त्री भएका प्रचण्ड अहिले एकीकृत माओवादीका अध्यक्ष छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकजस्ता नारा प्रचण्डले उठाएका हुन् । जुन ३ असोजमा संविधानसभाबाट संविधान जारी भएसँगै संस्थागत भएको छ । प्रचण्ड अहिले सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक समितिको  संयोजकसमेत छन् ।

२.मोहन वैद्य ‘किरण’
जनयुद्ध सुरु गर्दा मोहन वैद्य ‘किरण’ दोस्रो तहका नेता थिए । त्यतिवेला उनी पोलिटब्युरो सदस्य थिए । वैद्य प्रचण्डका पनि गुरु मानिन्थे । तर, १९ चैत ०४५ मा पञ्चायत चुनावलाई असफल पार्ने उद्देश्यसहित त्रिपुरेश्वरमा रहेको राजा महेन्द्रको सालिकमा मोसो दलियो र केही प्रहरीचौकीमाथि आक्रमणको प्रयास असफल भयो (जसलाई सेक्टर काण्ड भनियो) ।
त्यसपछि वैद्यले महामन्त्रीको पदबाट राजीनामा दिए । असार ०६९ मा एमाओवादीबाट पार्टी फुटाएर नेकपा–माओवादी गठन गरेका उनी अहिले क्रान्तिकारी माओवादीका अध्यक्ष छन् । परी थापा नेतृत्वको नेकपा (एकीकृत)सँगको एकतापछि पार्टीको नाम क्रान्तिकारी माओवादी बनेको हो । १५ साउन २००३ मा प्युठानमा जन्मिएका वैद्य जनयुद्ध सुरु गर्दा ४९ वर्षका थिए ।
३. डा बाबुराम भट्टराई
असार २०११ मा खोप्लाङ गोरखामा जन्मिएका डा बाबुराम भट्टराई जनयुद्ध सुरु गर्दा ४१ वर्षका थिए । पोलिटब्युरो सदस्य उनी तेस्रो तहका नेता थिए । जनयुद्धमा उनले क्रान्तिकारी जनपरिषद्का संयोजक भएर ‘जनसत्ता’को नेतृत्व गरेका थिए । पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा धेरै भोट ल्याएर गोरखाबाट विजयी भएका उनी प्रचण्डको मन्त्रिपरिषद् अर्थमन्त्री बने । ११ भदौ ०६८ मा आफैँ प्रधानमन्त्री बनेका भट्टराई दोस्रो संविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति थिए । संविधान जारी भएको छैटौँ दिन ९ असोजमा एमाओवादी र व्यवस्थापिका–संसद् सदस्य परित्यागको घोषणा गरेका भट्टराई नयाँ राजनीतिक शक्ति निर्माण अभियानमा छन् । ६ मंसिरमा उनले नयाँ शक्ति निर्माण अभियानको औपचारिक घोषणा गरेका थिए ।

४.रामबहादुर थापा ‘बादल’
१९ वैशाख २०१२ मा गुल्मीमा जन्मिएका थापा जनयुद्ध सुरु गर्दा पोलिटब्युरो सदस्य थिए । जनयुद्ध सुरु हँुदा उनी ४० वर्ष पुगेका थिए । उनी अहिले ६० वर्षका छन् । प्रचण्डको मन्त्रिपरिषद् उनी रक्षामन्त्री थिए । उनकै कार्यकालमा तत्कालीन प्रधानसेनापति रुकमांगद कटवाललाई बर्खास्त गर्ने निर्णय भयो ।
जुन निर्णयले एमाओवादीको सरकार ढल्यो । माओवादी विभाजन हुँदा उनी वैद्यतिर लागे । परी थापा नेतृत्वको एकीकृतसँग एकतापछि बनेको पार्टीमा उनी सचिवालय सदस्य छन् । उनी माओवादीमा महासचिव थिए ।

५. सिपी गजुरेल ‘गौरव’
१७ वैशाख २००५ मा सिन्धुलीमा जन्मिएका गजुरेल जनयुद्ध सुरु गर्दा ४७ वर्षका थिए । उनी मोहन वैद्य किरणपछिका उमेरले पाको नेता थिए । जनयुद्ध सुरु गर्दा पोलिटब्युरो सदस्य रहेका चन्द्रप्रकाश गजुरेल ‘गौरव’ अहिले नेकपा क्रान्तिकारी माओवादीको सचिवालय सदस्य छन् । एमाओवादी विभाजनपछि बनेको माओवादीमा उनी उपाध्यक्ष थिए । गजुरेल अघिल्लो संविधानसभामा सदस्य थिए । उनी जनयुद्धको अन्तिमतिर भारतीय जेलमा बसेका थिए ।

६. पोष्टबहादुर बोगटी ‘दिवाकर’
३ साउन २०१० मा नुवाकोटमा जन्मिएका बोगटी जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । जनयुद्ध सुरु गर्दा उनी ४२ वर्षका थिए । लामो समय पश्चिम नेपालमा काम गरेका बोगटी अघिल्लो संविधानसभामा नुवाकोट ३ बाट निर्वाचित भए । दोस्रो निर्वाचनमा पराजित भए । एकीकृत माओवादीको महासचिव हुँदा हृदयाघातका कारण उनको ३० भदौ ०७१ मा निधन भयो । उनका एक मात्र छोरा जनयुद्धमा राज्यबाट मारिएका थिए ।

७. देव गुरुङ ‘कान्छाबहादुर’
देव गुरुङ जनयुद्ध सुरु हुँदा केन्द्रीय सदस्य थिए । उनी जनयुद्ध सुरु गर्दा करिब ४० वर्ष पुगेका थिए । अघिल्लो संविधानसभा निर्वाचनमा मनाङ र कास्कीबाट निर्वाचित उनी स्थानीय विकासमन्त्री, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्रीसमेत बने । ०६९ असारमा माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागे । उनी अहिले नेकपा क्रान्तिकारी माओवादीका सचिवालय सदस्य छन् ।

८. टोपबहादुर रायमाझी ‘अनिल’
२५ कात्तिक ०१८ मा अर्घाखाँचीमा जन्मिएका रायमाझी जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । त्यसवेला उनी ३४ वर्षका थिए । अहिले उनी ५३ वर्ष पुगेका छन् । रायमाझी अहिले एकीकृत माओवादीका सचिव छन् । दुवै संविधानसभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित उनी स्थानीय विकास र भौतिक योजनामन्त्री बने । अहिले केपी ओली नेतृत्वको सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री छन् । माओवादी स्थापना भएदेखि नै भट्टराईको पक्षमा रहेका उनी भट्टराईको नयाँ शक्ति निर्माण अभियानलाई भने साथ दिएनन् ।

९. हरिबोल गजुरेल ‘शीतलकुमार’
६ वैशाख २०१२ मा सिन्धुलीमा जन्मिएका गजुरेल जनयुद्ध सुरु हुनुअघि नै माओवादीका केन्द्रीय सदस्य थिए । जनयुद्ध सुरु हुँदा उनी ४० वर्षका थिए । दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुलीबाट निर्वाचित उनी अहिले एमाओवादीको कोषाध्यक्ष छन् । उनी अहिले कृषि विकासमन्त्री छन् ।

१०. हरिभक्त काडेल ‘प्रतीक’
कँडेल माओवादीका पाका नेता हुन् । उनी जनयुद्ध सुरु हुनुअघिदेखि नै केन्द्रीय सदस्य थिए । १४ साउन २०११ मा जन्मिएका कँडेल जनयुद्ध सुरु गर्दा ४१ वर्ष पुगिसकेका थिए । काठमाडौंमा कलेज पढ्दा उनी प्रचण्डका ‘रुम पार्टनर’ थिए । अहिले उनी ६१ वर्ष पुगिसकेका छन् । माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागे । हाल उनी नेकपा क्रान्तिकारी माओवादीको पोलिटब्युरो सदस्य छन् ।

११. अग्निप्रसाद सापकोटा ‘कञ्चन’
२४ फागुन २०१४ मा सिन्धुपाल्चोकमा जन्मिएका अग्निप्रसाद सापकोटा जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए । झन्डै १५ वर्ष शिक्षण पेसा अँगालेका सापकोटा जनयुद्धमा लागे । उनी अहिले सिन्धुपाल्चोक २ बाट निर्वाचित व्यवस्थापिका–संसद् सदस्य हुन् । उनी पहिलो संविधानसभामा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । एमाओवादीको स्थायी समिति सदस्य रहेका सापकोटा अहिले वन तथा भूसंरक्षणमन्त्री छन् । उनी पूर्वसूचना तथा सञ्चारमन्त्रीसमेत हुन् ।

१२. लोकेन्द्र विष्टमगर ‘अभ्यास’
०२१ मा रुकुममा जन्मिएका लोकेन्द्र विष्टगमर जनयुद्ध सुरु हुँदा ३१ वर्षे जवान थिए । उनी जनयुद्धअघि नै माओवादीको केन्द्रीय सदस्य थिए । तर, उनी जनयुद्ध सुरु हुनुको केही महिनाअघि नै पक्राउ परे । ०५१ मा पक्राउ परेर ०५८ मा छुटे । उनी जनयुद्ध उत्तराद्र्धमा पुग्दै गर्दा ०६१ मा भारतमा पक्राउ परेर भारतीय जेलमा पनि बसे । अघिल्लो संविधानसभामा राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिका सभापति भएका विष्ट एमाओवादीको स्थायी समिति सदस्य थिए । उनी स्वास्थ्य र पर्यटनमन्त्री बने ।

१३. पम्फा भुसाल ‘विद्युत्’
२०१९ साउनमा अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसाल जनयुद्ध सुरु गर्दा ३३ वर्षकी थिइन् । जनयुद्ध सुरु गर्ने माओवादीको १९ सदस्यीय कार्यसमितिमा उनी एक्ली महिला थिइन् । उनी जनमोर्चा नेपालकी अध्यक्ष पनि थिइन् । ०६४ को निर्वाचनमा ललितपुर–३ बाट निर्वाचन जितेकी उनी मन्त्री बनिन् । ०६९ असारमा माओवादी विभाजित हुँदा उनी वैद्यको साथमा लागिन् । र, हाल नेकपा क्रान्तिकारी माओवादीकी प्रवक्ता छिन् ।

१४. मातृका यादव
०१६ मा सप्तरीमा जन्मिएका यादव जनयुद्ध सुरु हुँदा माओवादी केन्द्रीय सदस्य हुने एक मात्र मधेसी नेता हुन् । उनी जनयुद्ध सुरु गर्दा ३६ वर्षका थिए । उनले ०५६ मा माओवादीमा मधेसका कुरालाई उठाए । उनी माओवादीको पोलिटब्युरो सदस्य थिए । ०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र मशालसँग माओवादीले एकता गर्दा असन्तुष्ट भएर उनी पार्टीबाट बाहिरिए । उनले पार्टीबाट बाहिरिएर नेकपा ९माओवादी० ब्युँताए । यादव अहिले पनि नेकपा ९माओवादी०का महासचिव छन्।

१५. दिनेश शर्मा ‘सागर’
जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य रहेका शर्मा त्यसवेला ३६ वर्षका थिए । १७ साउन २०१६ मा काभ्रेमा जन्मिएका शर्मा अहिले ५६ वर्ष पुगेका छन् । यानप्रसाद गौतम उनका जेठान थिए । यानप्रसादकी बहिनी कमला गौतमसँग शर्माले जनयुद्धअघि नै विवाह गरेका थिए । जनयुद्ध सुरु गर्ने १९ केन्द्रीय समितिमा शर्मा र गौतम सबैभन्दा नजिकका नातेदार थिए । यानप्रसाद पार्टीभित्रको कारबाही भोग्दै गर्दा सैनिक कारबाहीमा मारिए भने शर्मापत्नी कमलालाई ०५८ मा तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर बेपत्ता पार्‍यो । दिनेश शर्मा माओवादी विभाजित हुँदा वैद्य पक्षमा लागे ।

१६. यानप्रसाद गौतम ‘आलोक’
यानप्रसाद गौतम जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए । २०१७ वैशाखमा काभ्रेको पोखरीचौरमा जन्मिएका उनी जनयुद्ध सुरु गर्दा ३५ वर्षका युवा नेता थिए । महत्त्वाकांक्षी नेता गौतममाथि माओवादीले संस्थागत रूपमै ‘पार्टी हेडक्वार्टरमाथि राजनीतिक षड्यन्त्र गरेको, यौन मामिलामा कमजोर रहेको, आर्थिक अराजकता रहेको र नोकरशाही कार्यशैली अंगीकार गरेको’ आरोप लगाएर कारबाही भयो । त्यसलाई ‘आलोक प्रवृत्ति’ भनेर माओवादीले पार्टीका तल्लो तहसम्म प्रशिक्षित गर्‍यो । गौतम पार्टीको आन्तरिक कारबाहीमा रहेकै समयमा ०५९ मा रोल्पाको उवामा तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा मारिएको माओवादीले बताउँदै आएको छ ।

१७. दण्डपानी न्यौपाने ‘दीपेन्द्र शर्मा’
१२ चैत २००३ मा चितवनको गीतानगरमा जन्मिएका दण्डपानी न्यौपाने जनयुद्ध सुरु गर्दा माओवादीका केन्द्रीय सदस्य थिए । जनयुद्ध सुरु हुँदा उनी ४९ वर्षका थिए । उनी माओवादीको तत्कालीन १९ सदस्यीय केन्द्रीय समितिमा उमेरले वैद्यपछि पाका नेता थिए । उनी ५३ वर्षका हुँदा ७ जेठ ०५६ मा काठमाडौंको कलंकीबाट प्रहरीको गिरफ्तारीमा परे । उनी हालसम्म राज्यपक्षबाट बेपत्ता छन् । बेपत्ता पारिनेमा उनी माओवादीको पहिलो नेता हुन् ।

१८. नारायणप्रसाद शर्मा ‘कमलप्रसाद’
४ पुस २०१४ मा दाङमा जन्मिएका शर्मा जनयुद्ध सुरु गर्दा केन्द्रीय सदस्य थिए । उनी ३८ वर्षका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि कुनै पनि सुविधाको पद नलिएका नेता हुन् शर्मा । माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा खरो रूपमा उत्रिएका थिए । अहिले उनी वैद्य नेतृत्वको माओवादीको पोलिटब्युरो सदस्य छन् ।

१९. फणीन्द्र आचार्य ‘अनल’
जनयुद्ध सुरु गर्दा चितवनका आचार्य केन्द्रीय सदस्य थिए । तर, केन्द्रीय समितिका १८ जना पूर्ण भूमिगत भएर जनयुद्धमा लाग्दा उनी लागेनन् । उनले चितवनको भरतपुरमा सरकारी अस्पतालअगाडि पसल थापेर व्यापार सुरु गरे । शान्तिप्रक्रिया सुरु भएपछि उनी पुनस् माओवादीको सम्पर्कमा आए । माओवादी विभाजित हुँदा उनी वैद्य पक्षमा लागे । अस्वस्थ रहेका आचार्य हिजोआज घरमै आराम गरिरहेका छन् ।(नयाँ पत्रिकाबाट)