दलित अगुवा विश्वकर्माको निधनमा शोक प्रस्ताव

माघ ३, काठमाडौँ–नेपाल दलित संघ केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दलित अभियानका अगुवा पद्मसिंह विश्वकर्माको निधन भएको सम्बन्धमा शोक प्रस्ताव पारित गरेको छ ।
विसं १९८७ चैत महिना बागलुङ जिल्लामा जन्मनुभइ विद्यार्थी जीवनमा नै भगत् सर्वजीत विश्वकर्माको धर्म सुधारक आन्दोलनमा विश्व सर्वजन संघका आवद्ध रही दलित समुदायलाई अछूत मूक्त गर्ने अभियानसँगै दलित समुदायको समग्र उत्थान तथा विकासका लागि राजनीतिक सहभागिताबाट परिवर्तन सम्भव छ भन्ने चेतका साथ नेपाली काँग्रेसमा आवद्ध हुँदै नेपाल दलित संघको संस्थापक नेतासमेत रहनुभएका प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वकर्माको यही मिति २०७२ पुस २९ गतेका दिन  पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा ८५ बर्षको उमेरमा असामयिक निधन भएकोमा समिति एवं सम्पूर्ण परिवार स्तब्ध भएको छ ।
यस दुःखद घडीमा उहाँको स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकशन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको संघले जनाएको छ ।
स्वर्गीय विश्वकर्मा २०५८ साल चैत ६ गते गठित राष्ट्रिय दलित आयोगको संस्थापक अध्यक्षसमेत रहनुभएको थियो । वनारश विश्वविद्यालयबाट संस्कृतमा उत्तरमध्यमा अध्ययन गर्नुभइ वागलुङ जिल्लामा शिक्षण पेशामा समेत आवद्ध हुनुहुन्थ्यो । स्वर्गीय विश्वकर्मा संस्कृत, ऊर्दू र हिन्दी साहित्यका श्लोकहरुलाई धाराप्रवाह सम्बोधन गर्नसक्ने क्षमता भएका नेपाली समाजमा पण्डित पद्मसिंह विश्वकर्माका नामले परिचित हुनुहुन्थ्यो । स्वर्गीय विश्वकर्माको श्रीमती र एक छोरी छन् । उहाँको पार्थिव शरीर गृहजिल्ला वागलुङमा सम्मानका साथ अन्त्येष्ठी गरिएको थियो ।