नेपाली संलग्न मुम्बई हल्लाउने एउटा चोरी

माघ ३, नेपालगन्ज – फाटफुट पटके चोरी त भइरहन्छन् । तर, एउटा चोरीले नेपाल मात्र होइन, छिमेकी भारतको फिल्मी नगरीसम्मै तरंग ल्याएको छ । भारतको महाराष्ट्र मुम्बईस्थित एक बिल्डरको घरबाट चार नेपाली युवाले चोरेको १ करोड ४० लाख भारु, २ करोड २४ लाख नेपालीको चर्चा देश परदेशमै फैलिएको छ ।

१८ वर्षभन्दा कम उमेरका ती युवाले उक्त रकम सुरक्षित तरिकाले नेपाल त भित्राए, तर त्यसअघि नै प्रहरीको फन्दामा परे । प्रहरीले घटनामा संलग्न ४ मध्ये २ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट ६० लाख ४ हजार पाँच सय भारु बरामद भएको छ । बरामद रकमसहित प्रहरीले आइतबार दैलेख सिंहसैन ७ का लक्ष्मण मनिने लव शाही र जगतजंग शाहीलाई सार्वजनिक गरेको छ । मास्टर प्लानरका रुपमा चिनाइएका उपेन्द्र शामी र अछाम कालेडाँडा राकुगाउँका भर शाही भने फरार छन् । (कान्तिपुर दैनिकबाट)