अमेरिकी डलरको मुल्य बढ्दो क्रममा

माघ, २ काठमाडौं–
अमेरिकी डलरको भाउ डेढ वर्षयताकै महंगिएको छ । नेपाली बजारमा एक अमेरिकी डलरको भाउ १ सय ८ रुपैयाँ ५४ पैसा पुगेको छ ।
शनिबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय ७ रुपैयाँ ९४ पैसामा किनेर १ सय ८ रुपैयाँ ५४ पैसामा बिक्री गर्ने जनाएको छ ।
अहिलेको डलरको मूल्य ०७१ भदौ महिना यताकै महंगो भएको राष्ट्र बैंकका विदेशी मुद्रा विनिमय व्यवस्थापनका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले अनलाइनखबरलाई बताए । त्यसबेला डरको मूल्य १ सय ९ रुपैयाँसम्म पुगेको थियो ।
‘अमेरिकी अर्थतन्त्र बलिया हुँदै गएकाले अमेरिकी डलर महंगिएको हो,’ ढुंगानाले भने । अमेरिकामा बेरोजगार दर पनि घटिरहेको छ । अन्य देशको पैसा पनि डलरमा कन्भर्ट हुन थालेपछि विश्वभर डलरको माग बढेकाले मूल्य पढेको हो ।
डलरको भाउ अझ केही बढ्न सक्ने भए पनि धेरै माथि भने नजाने कार्यकारी निर्देशक ढुंगानाले बताए । ‘आउने त्रैमासमा अमेरिकी अर्थतन्त्रको सूचकांक के हुन्छ, डलरको मूल्य त्यसमा भर पर्छ,’ उनले भने( ‘त्यसैले डलरको मूल्य खासै धेरै माथि त नजाला ।’
नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई नोक्सानी हुने ढुंगानाले बताए ।
‘डलरको मूल्य बढ्दा कम्तीमा पनि नेपालको ३० प्रतिशत अन्तराष्ट्रिय व्यापार प्रभावित हुन्छ,’ उनले भने । विदेशीलाई तिर्नुपर्ने ऋण पनि डलरमा तिर्नुपर्ने भएकाले नेपाली अर्थतन्त्रलाई घाटा हुने उनले बताए ।
नेपालको दुई तिहाई व्यापार भारतसँग छ । भारत र नेपालबीच स्थिर बिनिमय दर भएकाले डलर बढ्दा पनि ठूलो असर नपर्ने विज्ञहरुले भनाई छ ।
डलरको मूल्य बढ्दा घाटाहरु धेरै भएपनि बिदेशमा काम गरेर नेपालमा रेमिट्यान्स पठाउनेलाई भने फाइदा पुग्ने छ । यसैगरी पर्यटन, हस्तकला तथा गार्मेन्ट उद्योगलाई पनि यसले फाइदा पुर्‍याउने छ ।