प्रधानमन्त्रीले नयाँ सपना नदेखाउने हो भने सबै खाडीतिर जाने त ?

माघ १, काठमाडौँ–नेकपा (एमाले)का सचिव प्रदिप ज्ञवालीले देशको प्रधानमन्त्रीले जनतालाई नयाँ सपना नदेखाउने हो भने पढेलेखेका यूरोप अमेरिका र नपढेका युुवा खाडी राष्ट्र गए भइहाल्छ किन राष्ट्र चाहियो भनि प्रश्न गरेका छन् ।
एक कार्यक्रममा उनले भने,‘ रिबन काट्ने, उद्घाटनमात्रै गर्ने र १० देखि ५ बजेसम्मको ड्यूटी गर्ने हो भने किन चाहियो सरकार ?सरकारले सपना देखाउन सक्नुपर्छ । तर त्यसलाई कार्यान्वयन गर्न सचेतता, एजेण्डा र कार्यान्वयनको योजना चाहिन्छ । भुकम्प, नाकाबन्दीले चुर भएको मुलुकलाई सपना देखाउन सक्ने नेतृत्व चाहिएको छ । नयाँ सपना नदेखाउने हो भने पढेलेखेका यूरोप, अमेरिका र अरु खाडी गए भइहाल्यो । नेपाल किन चाहियो ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भईरहेको बेला त्यसको बचाऊ गर्दै उनी निकट ज्ञवालीको यस्तो भनाई आएको हो ।
सचिव ज्ञवालीले मधेस समस्या समाधानको बिन्दुमा पुगेको भन्दै आगामी माघ ५ गते अघि नै समझदारी हुने विश्वास व्यक्त गरे । उनले भने,‘माघ ५ गतेभित्रै सहमति हुनुपर्छ । मधेस आन्दोलनले आन्तरिक राजनीतिमा बाह्य चासो बढाएको, सामाजिक सद्भावमा आँच पुर्याउने, अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेको र मुलुकमा अराजकता बढाएको छ । त्यसैले यसलाई जतिसक्दो चाँडो हल गर्नुपर्छ । बार्तालाई हल्का रुपमा लिनु हुँदैन अहिले मुलुकको लागि यो भन्दा ठूलो एजेण्डा छैन । वार्तामा रहेका मन्त्रीले यसलाई गम्भिर रुपमा लिनुपर्छ ।’
सचिव ज्ञावलीले भाषिक असहमति मिलाएर संविधान संशोधन गर्ने र क्लष्टर कम गर्ने प्रयासमा रहेको जानकारी दिँदै सीमांकन व्यवहारबाट परिपक्व हुने भएकोले आजै हुन नसक्ने भएकोले संयन्त्र गठन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने,‘ सीमांकन मिलाउन सजिलो छैन । मधेस, हिमाल र पहाडको सम्बन्ध विच्छेद गर्ने गरी काक्रो चिरे जस्तो गर्नु हुँदैन । जातीय राज्य बनाउने दिशामा गए मुलुक नाइजेरिया जस्तो हुन्छ । त्यसैले संसदबाट पारित गरेर राजनीतिक संयन्त्रको वैधानिक हैसियत दिइ विश्वासमा लिएर अघि बढ्नुपर्छ । यसका लागि हामी तयार छौ ।’
एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले संसदमा रहेको संविधान संशोधनमा भाषा मिलाएर मधेसको माग आधार पुरा हुने भन्दै सीमांकनमा संसदबाट अनुमोदन गरेर संवैधानिक हैसियतसहितको  राजनीतिक संयन्त्र गठन गरेर अघि बढ्ने बताए ।
उनले भने,‘  हामी मधेस आन्दोलन समाधान गर्ने दिशामा छौ । मधेस आन्दोलन संबोधन गर्ने समय आएको छ । कसैलाई निषेध गरेर, थकाएर हुँदैन यो लोकतान्त्रिक चरित्र होईन । ’
प्रवक्त शर्माले देश अप्ठ्यारोमा परेको बेला सबै फाईदा लिन लाग्ने भएकोले नाकाबन्दीको नाममा कालाबजारी बढेको भन्दै मधेस मुद्दालाई सम्मानजनक निष्कर्समा पुर्याएपछि यसको अन्त्य हुने दावी गरे ।
सरकार र मधेसी दुबै सकारात्मक भएकोले कुरा मिल्ने विश्वास ब्यक्त गर्दै उनले मधेसी दलहरुहरुलाई नाका खोल्न आग्रह सहित सहमति नभए फेरि आन्दोलन गर्न सुझाव दिए ।
नेपाली काग्रेसका सभासद रामहरी खतिवडाले संसदमा रहेको संविधान संशोधन प्रस्ताव पारित भएपछि मधेसी मोर्चाको कुनै माग बाँकी नरहने दावी गर्दै संशोधनमा मोर्चा पनि सहमतिमा आउने विश्वास ब्यक्त गरे ।
सीमांकन नेताहरु कोठामा बसेर नहुने भएकोले  विज्ञहरुको सुझावको आधारमा गर्नु पर्ने भन्दै  विवादित पाँच जिल्लाको कुरा नेताहरुले भन्दा पनि त्यहाँका जनताले भनेको आधारमा गर्नु पर्नेमा जोड दिए ।
खतिवडाले राजनीति चुनावको बेलामा मात्रै गर्न आग्रह गर्दै अरु बेला मुलुकलाई दुख नदिने भलो सोच्न सुझाव दिए ।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा शिवजी यादवले आगामी ५ गतेसम्म सहमतिमा हस्ताक्षर गर्ने तीन दलको निर्णयलाई आफूहरुले सकारात्मक रुपमा लिएको भन्दै समय धेरै घर्किसकेकोले घण्टा घण्टाको महत्वलाई ध्यानमा राखेर आजै बसेर टुङग्याउनुपर्ने आवश्यकता औल्याए ।
उनले आन्दोलनकारीलाई बदनाम गराउन सरकार कालोबजारीमा लागेको आरोप लगाउँदै माघ ५ गतेभित्रमै समस्याको समाधान गर्न सबैको सकारात्मक दवावको आवश्यकता रहेको बताए ।
यादवले भने,‘ माघ ५ गते सरकार गठन भएको पनि सय दिन  पुग्छ । सहमति भए त्यो ऐतिहासिक दिन हुन्छ । सहमति नभए सरकारको नैतिक रुपमा अन्तिम दिन हुन्छ ।’