भूकम्पपीडित १७५ महिलाको स्वास्थ्य जाँच

पुस २८, काठमाडौँ– महिला पुनः स्थापना केन्द्र(ओरेक) ले भूकम्प प्रभावित ललितपुरका १७५ जना महिलाको निः शुल्क स्वास्थ्य जाँच गराएको छ ।
महिलाको स्वास्थ्य अधिकार सबैको सरोकार‘ भन्ने नाराका साथ ललितपुर उपमहानगरपालिका, महालक्ष्मी नगरपालिका , गोदावरी नगरपालिका, लेले, ठैब, हरिरसिद्धि, विशंखुनारायणका महिला तथा किशोरीलाई स्वास्थ्य जाँचका साथै अभिमुखीकरण समेत गराइएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर र ओरेकको संयुक्त आयोजनामा गरिएको सो शिविरमा लैंगिक विभेदमा आधारित हिंसा र त्यसले महिलाको स्वास्थ्यमा पार्ने असरसम्बन्धमा जानकारी तथा अभिमुखीकरण गराउनुका साथै सामान्य स्वास्थ्य परीक्षण र महिलाको यौन तथा प्रजनन स्वास्थ्य समस्याको जाँच गराइएको ओरेकका कार्यक्रम संयोजक सुजाता सिंहले जानकारी दिइन् ।
महिलामा हुने यौन तथा प्रजनन स्वास्थ्यअन्तर्गत आङ् खस्ने समस्या, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, यौन रोग र निरन्तर पिसाब चुहिने समस्याका बिरामी बढी जाँचका लागि आएका थिए ।
सो अवसरमा स्वास्थ्यसम्बन्धी विभिन्न सूचनामुलक पर्चा, पोष्टर तथा स्वास्थ्यसम्बन्धी भिडियो प्रदर्शनी गरिएको थियो ।