ठूला व्यापारी खोज्दै प्रहरी

पुस २८, काठमाडौं – गुन्डा नाइकेलाई तह लगाएपछि प्रहरीले अब जनता र देश लुट्दै आएका ठूला व्यापारीविरुद्द कारबाही अभियान सुरु गरेको छ । ठूला नेताहरुको संरक्षणमा व्यापारको आवरणमा अनेक धन्दा गर्दै आएका व्यापारीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

देशकै टप १० मध्येको एक व्यापारी घराना केएल दुगड ग्रुपमाथि समेत प्रहरीले छापा हानी कर्मचारी जेल हालिसकेको छ । प्रहरी कारबाहीपछि दुगडका सञ्चालकहरु विदेश भागेका छन् । एसएसपी विक्रमसिंह थापाले व्यापक राजनीतिक दबाबका बाबजुद खानेतेलमा कालोबजारी र ठगी गरेको आरोपमा उक्त घरानामा छापा हानी दुई जनालाई पक्राउ गरेका थिए । पक्राउ परेका अमन जैन र प्रमोद अधिकारीलाई अदालतले जेल पठाएको छ भने अन्य ११ जनाविरुद्द पनि वारेन्ट जारी गरेको छ । (दृष्टि साप्ताहिकबाट)