चिसोले जन्मनासाथ दुई शिशुको मृत्यु

पुस २८, दोलखा – जिल्लाको उत्तरी दुर्गम गाउँ कालिन्चोकमा तीन दिनयता जन्मिएलगत्तै दुई नवजात शिशुको ज्यान गएको छ ।

भूकम्पले घर भत्काएपछि जस्ताका टहरामा रात काटिरहेका गर्भवती र सुत्केरीलाई अत्यधिक चिसोले सताएको छ । चिसोकै कारण जन्मिनासाथ शिशुको मृत्यु भएपछि स्थानीय चिन्तित भएका छन् । स्थानीय स्वास्थ्य कार्यकर्ताका अनुसार दुई साताअघि गाउँमा भएको गर्भवती स्वास्थ्य जाँच शिविरमा २९ जना महिलाले गर्भ जाँच गराएका थिए । स्थानीय सामाजिक कार्यकर्ता पदम थामीका अनुसार आइतबार मध्यरात सुत्केरी भएकी कालिञ्चोक ३ बेगुम्पाकी विष्णुमाया थामीले सुत्केरी भएलगत्तै छोरी गुमाएकी छन् । (नागरिक दैनिकबाट)