भागवण्डाको राजनीतिले कांग्रेस इतिहासकै कमजोर कोइराला

पुस १७, चितवन–नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भागबण्डाको राजनीतिले काँग्रेस अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको वताएका छन् ।

लोकतान्त्रिक युवा मञ्चले चितवनको शारदानगरमा आज विहान आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले  भागबण्डाको राजनीतिले कार्यकर्तासमेतको शिर निहुरिएकाले अब ६०÷४० को भागबण्डाको राजनीति जसरी भएपनि तोड्नु पर्ने बताएका हुन् ।

काँग्रेसको १३ औं महाधिवेशनतर्फ लक्षित गर्दै उनले दूरदराजमा बसेर काम गर्ने कार्यकर्ताहरूलाई माया गर्ने र उनीहरूको योगदानलाई कदर गर्ने तथा भागबण्डाको राजनीतिको अन्त्य गर्ने सक्षम व्यक्तिलाई चयन गर्न कार्यकर्तालाई आग्रह गरे ।

उनले वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको वताए । उनले शीर्ष नेताहरुमा इच्छाशक्ति भए मेलमिलापको बाटो मार्फत नै संकट समाधान गरेर मूलूकलाई निकास दिन सकिने बताए ।

यसैगरी तराईमा भइरहेको आन्दोलनमा बल प्रयोग गरेर मात्रै तराईको समस्या समाधान नहुने उनले दावी गरे । उनले अंगिकृत नागरिकता पाएको व्यक्ति राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानसेनापति बन्न नसक्ने दावी गरे ।