फ्रेस कृषि अब ललितपुरको इमाडोलमा

पुस १२, काठमाडौँ।
मानवीय स्वास्थ्यलाई ध्यानमा राख्दै कृषि विकास वहुउद्देश्यीय सहकारी संस्था ललितपुर कुमारीपाटीले विषादी प्रयोग नभएको १२० प्रकारका प्रशोधित खाद्यान्न तथा ६० प्रकारका तरकारीहरुको नयाँ आउलेट ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ ।

इमाडोलको कृष्णमन्दिर अगाडि बिजी एग्रो मार्टको नाममा ‘कृषि फ्रेस विषादिरहित
उत्पादन’ भन्ने ब्राण्डमा उक्त संस्थाले आफैले उत्पादन गरेको १२० प्रकारको प्रशोधित खाद्यान्न (चामल, दाल, गेडागुडी, मसला, पिठो), ६० प्रकारका तरकारी तथा साग, तोरीको तेल र दूध बिक्री गर्न सुरू गरेको हो ।

बिषादीयुक्त तरकारी तथा खाद्यान्नको बजार फैलिरहँदा उक्त संस्थाले बिषादी प्रयोग नभएको तरकारी तथा खाद्यान्न उत्पादन गर्दे आएको छ ।

ललितपुरको टिकाथलीमा दुई सय रोपनी जग्गामा आफैँ विषादी प्रयोग नगरी यस्ता खाद्य पदार्थ उत्पादन गर्दै आएको र इमाडोलमा नयाँ आउलेट सुरु गरिएको बिजी एग्रो मार्टका सञ्चालक पवन श्रेष्ठले बताए ।

कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा हिमाली, पहाडी र तराईका केही जिल्लामा उत्पादन भएका खाद्यान्न सङ्कलन गरेर विराटनगरस्थित शाखा कार्यालयमा प्रयोगशालाको सहयोगमा परीक्षण गरेपछि थप परीक्षण तथा प्याकिङका लागि काठमाडौं भित्राइएको र करिब आठ करोडको लगानीमा संस्थाले यस्ता उत्पादन, प्याकेजिङ र बिक्री गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।