महासंघलाई सुपारी किसानको एक साताको अल्टिमेटम

पुस १२, काठमाडौँ ।

उद्योग वाणिज्य महासंघको निर्णयविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका सुपारी किसानले समस्या समाधानको लागि थप एक साताको अल्टिमेटम दिएका छन ।

मेची सुपारी तथा फलफुल विकास संस्था झापाले पत्रकार सम्मेलन गरेर आफूहरुका सबै माग पुष १७ भित्र पुरा नगरे थप कठोर र शसक्त आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो ।

संस्थाले आफूहरुको शान्तिपूर्ण धर्ना तथा अनशन सहितका विरोधका कार्यक्रमहरुलाई  ३८ दिन पुग्दा समेत महासंघले वार्ता र सुनवाई नगरी बेवास्ता गरेको आरोप लगाउँदै यस्तै अवस्था रहे आफूहरु बाध्य भएर कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

सुपारी किसान सङ्घ सङ्गठनले महासङ्घको अन्तरिक गुटवन्दी, आर्थिक चलखेल र स्वार्थगत प्रवृत्तिबाट उत्पादकहरु समस्यामा परेको भन्दै गत मङ्सिर ३ गतेबाट शान्तिपूर्ण धर्ना तथा अनसन सहितका विरोधका दवाव मूलक कार्य गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा सुपारीसँग सम्बन्धित कार्यविधि २०६८ बमोजिम नेपाल उद्योग वाणिज्य महासंघले उत्पतिको प्रमाणपत्र जारी गराइने सिफारिस अधिकार झापा जिल्लाबाट एउटा मात्र संस्थालाई निरन्तर दिँदा अन्य योग्य प्रतिस्पर्धी संस्थालाई पक्षपूर्ण ढङ्गले हरेक वर्ष पाखा लगाईएको गुनासो गरिएको थियो ।

पत्रकार सम्मेलनमा मेची सुपारी तथा फलफूल विकास संस्था झापाका उपाध्यक्ष तोयानाथ अधिकारीले सुपारीसम्वन्धी कार्यविधि २०६८ बमोजिम व्यवस्था नहुँदा किसानहरु मर्कामा परेको बताए । उनले तत्काल किसानलाई सहज हुने वातावरण नमिलाए त्यसको नतिजा महासंघले भोग्नुपर्ने चेतावनी दिए ।