मदेशी मोर्चाका नेता भारतको सुझाव बोकी आज नेपाल फर्किदै, यस्तो छ सुझाव

मंसिर २३, काठमाडौँ – अघिल्लो हप्ता सरकार र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक भयो भन्ने बित्तिकै अब केही दिनमै नाकाबन्दी खुलेर जनजीवन सहज हुन थाल्ने धेरैको विश्वास थियो ।
तर सरकार र तीन दलले सहमतिको लागि प्रस्तुत गरेको तीनबुँदे प्रस्ताव सार्वजनिक गरेकै भोलिपल्ट मोर्चाका नेता भारतको निमन्त्रणमा दिल्ली पुगे । आइतबार दिल्ली पुगेका उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदी बाहेक अरु शीर्ष नेतृत्वसँग भेटवार्ता गरिसकेका छन् । सम्भव भए बुधबार मोदीसँग पनि भेट गरेर उनीहरु स्वदेश फर्किंदैछन् । मोर्चाका नेताहरु आएपछि बिहीबार सरकारसँग वार्ता गर्ने तयारी छ ।
चार दिनसम्म दिल्लीमा भेटवार्तामा व्यस्त रहेका मोर्चाका नेताहरुलाई भारतले वार्ताबाटै समाधान खोज्न सुझाव दिएको छ । मंगलबारको भेटमा भारतीय विदेश सचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले संवादबाटै समाधान खोज्न आग्रह गरेका हुन् ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहित अरु नेताहरुले समेत सरकारले प्रस्तुत गरेको तीन बुँदे प्रस्तावमा छलफल गरेर निकास निकाल्न सुझाव दिएपछि मोर्चाले आन्तरिक छलफल गरेर सरकारसँग वार्तामा बस्ने तयारी गरेको हो । संघीय समाजवादी फोरम नेपाल नेता लालबाबु राउतले बिहीबार मोर्चाको आन्तरिक बैठक बस्ने जानकारी दिए ।