मंसिर ८,भक्तपुर – भारतको अघोषित नाकाबन्दीका कारण कृषकले सिचाइँका लागि मट्टितेल नपाएपछि वैकल्पिक उपाय अपनाउन थालेका छन् ।
कृषकले विद्युत्बाट चल्ने पम्पबाट सिचाइँ गरी तरकारी उत्पादन गर्न थालेका हुन् । उपत्यकामा परम्परागत राजकुलो चल्न छोडेको वर्षाँै भइसकेको छ । राजकुलोको विकल्पमा कृषकले मट्टितेलबाट चल्ने पम्पको सहायताले सिचाइँ गर्दै आएका थिए ।
मट्टितेल पाउन छाडेपछि विद्युत्बाट चल्ने पम्पबाट सिचाइँ गर्न थालेका मध्यपुर थिमि नगरपालिका–१६, लोकन्थलीका कृषक भाइराम हेकाले बताउनुभयो । “हरियो तरकारीमा हप्ता दश दिनमा नै सिचाइँ आवश्यक पर्छ होइन भने तरकारी बारीमै सुकेर जान्छ”, हेकाले भन्नुभयो, “खेर फाल्नुभन्दा उत्पादन गरेर बजार लान पाए केही आम्दानी हुने आशामा विद्युतीय पम्प जडान गरी सिचाइँ गर्न थालेका छौँ ।” कृषकको समूह बनाई रु ५० हजारको लागतमा सिचाइँको लागि वैकल्पिक उपाय अपनाएको उहाँको भनाइ छ ।
त्यस्तै लोकन्थलीकै अर्का कृषक राजु प्रजापति (माईला दाई)ले एकल लगानी मै विद्युतीय पम्प जडान गरेको बताउनुभयो । उहाँले घरदेखि ५०० मिटरको दुरीमा रहेको खेतसम्म विद्युत् लाइन विस्तार गरी सिचाइँ गर्न थाल्नुभएको छ । छरछिमेकका कृषककोसमेत सिचाइँ गरिदिने र त्यसका लागि प्रतिघण्टा रु २०० लिने गरेको उहाँले बताउनुभयो । “खेतसम्म तार बिच्छ्याउन मात्र रु १० हजार खर्च भएको छ” उहाँले भन्नुभयो– “मेसिनलगायतको खर्च जोड्दा रु ४० हजारभन्दा बढी खर्च भइसकेको छ ।”
कृषकले सिचाइँका लागि सरकारले विद्युत्को व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् । उनीहरुले सरकारले किसानको समस्या समाधानमा चासो नदिएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । हरियो तरकारी उत्पादक किसानलाई सिचाइँका लागि मट्टितेलको व्यवस्था गर्नुपर्ने त्यसो नभए सरकारले खेत–खेतमा विद्युत् वितरण गर्ने व्यवस्था गर्नुपर्ने कृषक प्रजापतिले माग गर्नुभयो ।
जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत सम्झना कोइरालाले मलका समस्या लिएर किसान आएपनि सिचाइँका समस्या लिएर नआएको बताउनुभयो । “किसानका लागि विद्युत् मिटर सहयोग गर्ने कार्यक्रम रहेको छ” उहाँले भन्नुभयो ।
रासायनिक मलको हाहाकार
गहुँ छर्ने र आलु रोप्ने बेलामा कृषकलाई मलको अभाव भएको छ ।
नाकाबन्दीका कारण कृषक मल नपाएर गहुँ छर्ने वा नछर्ने दोधारमा छन् । किसानले हरियो तरकारीमा मलको विकल्पमा विभिन्न खालका पौष्टिक तत्व प्रयोग गर्न थालेका छन् । मलको दाँजोमा सस्तो भएका कारण पनि किसान त्यस्ता पौष्टिक तत्वप्रति आकर्षित हुन थालेको मल बिक्रेता बताउँछन् ।
“मल नभएपछि तरकारी उत्पादन हुँदैन, त्यसैले मलको विकल्पमा विभिन्न खालका पौष्टिक तत्व बिक्री गर्न थालेका छौँ” भक्तपुर सानो थिमिस्थित नाट्यश्वर बीउबीजन पसलका सञ्चालक सन्मान मन्तासिरले भन्नुभयो ।
कृषि कार्यालयको मल ल्याएर वितरण गर्ने कार्यक्रम नरहेको तर कृषि सामाग्री केन्द्रबाट मल ल्याउन सहकारी तथा कृषक समूहलाई सिफारिस दिने कार्य गर्दै आएको योजना अधिकृत कोइरालाले जानकारी दिनुभयो । “ करिब २० सहकारी र समूहलाई दुई हजार बोराको हाराहारीमा मलको लागि सिफारिस दिएका छौँ” उहाँले भन्नुभयो ।
यसैबीच जिल्ला सहकारी सङ्घलगायत जिल्लाका केही सहकारी मल लिन विरगन्ज पुगेका छन् । कृषि सामाग्री बिक्री केन्द्रले मल ल्याउन नसकेपछि सहकारीको एक टोली विरगन्ज गएको जिल्ला सहकारी सङ्घका कार्यालय सचिव मेघनाथ घिमिरेले जानकारी दिनुभयो । सोमवार ६३ टन युरिया र २१ टन डिएपी मलका लागि बिल भुक्तानी गरिसकेको उहाँले बताउनुभयो । “मङ्गलबारसम्म मल ल्याउन सके बुधबारबाट वितरण गर्छौँ” उहाँले भन्नुभयो ।
जिल्लामा मलको हाहाकार भएपछि कालोबजारीसमेत मौलाएको छ । सहकारीले मल ल्याउन नसकेको मौका छोपी विभिन्न बिक्रेताले युरिया मल एक बोराको रु दुई हजार ५०० देखि रु तीन हजारसम्म बिक्री वितरण गरिरहेको पाइएको छ ।
“ढुवानी भाडा अत्याधिक वृद्धि भएका कारण मलको मूल्य वृद्धि भएको हो” एक मल बिक्रेताले भन्नुभयो ।
खेत खन्न समस्या
नाकाबन्दीका कारण इन्धन अभाव भएसँगै किसानलाई गहुँ छर्ने र आलु रोप्ने बेलामा खेत खन्नै समस्या भएको छ ।
खेत खन्ने ट्याक्टर चलाउन डिजेल नभएपछि अधिकांश खेत बाँझै भएको कृषक बताउँछन् । पम्पले ट्याक्टरलाई डिजेल वितरण नदिएपछि कृषक खेत खन्न नपाएर बिचल्लीमा परेका छन् । केहिले प्रतिलिटर रु २५० तिरेर डिजेल किन्दै खेत खन्नु परिरहेको गुनासो गरेका छन । रासस