इन्धन विकल्पको खोजीसँगै दाउरा बिक्रीमा कमी

मंसिर ८, काठमाडौँ –मुलुकमा इन्धन सङ्कटपछि राजधानीमा दाउरा किन्ने सर्वसाधारणको भीड बढेपनि हाल त्यसमा कमी आएको छ ।

इन्धन आपूर्ति असहज भएपछि सरकारले सर्वसाधारणलाई दाउरा बिक्री गर्ने निर्णय गरेको थियो । सुरुमा दाउरा किन्नेको बाक्लो भीड देखिएपनि पछिल्ला दिनमा त्यसमा कमी आएको द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेड (टिसिएन)ले जनाएको छ । बिक्रीको सुरुको दिन टिसिएनको बालकुमारी डिपोबाट २७० जनाले दाउरा किनेकामा सोमबार १०८ जनाले मात्र किनेको डिपो प्रमुख सुमनकुमार सिंहले बताउनुभयो ।

वन तथा भू–संरक्षण मन्त्रालयको निर्णयपछि टिसीएनले इन्धन सङ्कट टार्न सर्वसाधारणलाई कात्तिक २९ गतेदेखि दाउरा बिक्री गर्न सुरु गरेको थियो । बालकुमारी डिपोले हालसम्म एक हजार २०२ जनालाई एक लाख २१ हजार ९६१ किलो दाउरा बिक्री गरेको छ ।

ग्यासको अभावमा चुल्हो बाल्न नपाएका उपत्यकावासीलाई टिसीएनले सुरुमा काठमाडौँको आर्यघाट र ललितपुरको बालकुमारीस्थित डिपोबाट दाउरा बिक्री थालेको थियो । खाना पकाउने ग्यासको चर्को सङ्कट व्योहोरिरहेका उपत्यकावासीलाई राहत दिन टिसिएनले कात्तिक २ गते भक्तपुर र ३ गते स्वयम्भूमा डिपो थपेको आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयो ।

टिसीएनले प्रतिपरिवारलाई एक क्विन्टल दाउरा प्रतिकिलो रु १५ का दरले र सङ्गठित संस्था वा अन्य निकायलाई पाँच क्विन्टल परिमाणमा प्रतिकिलो रु १७ का दरले बिक्री गर्छ । दाउरा लिने सर्वसाधारणको सङ्ख्यामा कमी आएपनि सङ्गठित संस्थाको माग बढेको भट्टले बताउनुभयो । “विद्यालय, अस्पताल, साना उद्योगजस्ता सङ्गठित संस्थाको माग बढेको छ” उहाँले भन्नुभयो ।

दाउरा किन्ने उपभोक्ता नदोहोरिउन् र सबैले समान ढङ्गले पाउन सकुन् भनेर टिसीएनले अनुगमन गरिरहेको छ । उपत्यकामा दाउरा बिक्री गर्न तराईका विभिन्न जिल्लाबाट दाउरा ल्याइएको मन्त्रालयले जनाएको छ ।

दाउरा बिक्रीसँगै बढेको सर्वसाधारणको भीड कम हुँदै गएको आर्यघाट बिक्री डिपोका प्रमुख सुरेशप्रसाद रिजालले बताउनुभयो । सो डिपोबाट सुरुको दिन १५० जनाले दाउरा किनेकामा सोमबार ५९ जनाले मात्र दाउरा किनेका छन् । डिपोले हालसम्म कुपनका आधारमा एक हजार १७५ जनालाई एक लाख १५ हजार ३०० किलो दाउरा बिक्री गरेको छ । यस्तै स्वयम्भू डिपोले हालसम्म ३१२ जनालाई २९ हजार ४३२ किलो तथा भक्तपुर डिपोेले ७७७ जनालाई ७८ हजार ३३० किलो दाउरा बिक्री गरेको उपप्रबन्धक प्रदिपकुमार निरौलाले जानकारी दिनुभयो ।

विसं २०४५ पछि पहिलोपटक सर्वसाधारणलाई दाउरा बिक्री थालेको र यस कार्यमा मन्त्रालयलगायत अन्य सरकारी निकायले समन्वय गरी सहयोग गरेको टिसिएनले जनाएको छ । सुरुमा ग्यास, पेट्रोलजस्तै दाउरा पनि नपाइने हो की भनेर उपभोक्ताको भीड बढेको हुन सक्ने र पछि सबैले सहज रुपमा पाउन थालेपछि भीडमा कमी आएको टिसीएनको भनाइ छ ।

सर्वसाधारणले भने मुढा ठूला भएकाले घर लैजान अफ्ठ्यारो भएको र भाडामा बस्नेले सहज रुपमा दाउरा बाल्न नपाएको गुनासो गरेका छन् । कालोबजारीमा ग्यास पाइन थालेको, नेपाल आयल निगमले मट्टितेल बिक्री वितरण गरेको तथा अधिकांशले विद्युत्बाट खाना पकाउँदा पनि दाउरा किन्नेको सङ्ख्यामा कमी आएको बताइएको छ ।

डिपोमा मुढा ठूला भएपछि सजिलोका लागि दाउरा चिर्ने व्यक्तिको व्यवस्था गरिएको र उनीहरुले प्रतिकिलो रु तीनका दरले दाउरा चिरिरहेको टिसीएनले जनाएको छ ।