थारूको माग सम्बोधन हुन्छ – उपप्रधानमन्त्री रावल

मंसिर ६, बेलौरी (कञ्चनपुर)- उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले आयोगमार्फत कैलाली–कञ्चनपुरका थारू समुदायको समस्या सम्बोधन गरिने बताउनुभएको छ ।

एमाले उपाध्यक्षसमेत रहनुभएका मन्त्री रावलले आज नयाँ संविधानबारे कञ्चनपुरमा एमाले कार्यकर्तालाई प्रशिक्षण दिँदै नयाँ संविधानमा सबैका हक अधिकार सुनिश्चित भएका जानकारी दिनुभयो ।
नयाँ संविधानका उपलब्धिबारे आयोजित प्रशिक्षण कार्यक्रममा आदिवासी, थारू समुदायका एमालेका अगुवा कार्यकर्ताको सहभागीता रहेको थियो ।
मन्त्री रावलले थारू समुदायका माग आयोगमार्फत हल हुने जानकारी दिँदै आन्दोलन फिर्ता लिनसमेत आह्वान गर्नुभयो । कैलाली कञ्चनपुरका थारू समुदायलाई आयोगमार्फत विशेष अधिकार दिलाइनेसमेत उहाँले बताउनुभयो ।
नयाँ संविधानले मधेसी, आदिवासी, थारू, दलित सबै समुदायलाई समेटेको भन्दै संविधानको सबैले पालना गर्नमा समेत मन्त्री रावलले जोड दिनुभयो ।
मन्त्री रावलले भन्नुभयो–“जनताको चुलो बन्द गरेर आन्दोलन गर्नु अनैतिक हो ।”