पत्रकार आचारसंहिता उल्लङ्घन बढ्दो

मंसिर ३, काठमाडौँ – सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण गरिएका समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध पर्ने उजुरी बढ्दै गएको छ ।

व्यक्तिगत वा संस्थागत चरित्र, मानसम्मान, मर्यादा, इज्जत, प्रतिष्ठा, सार्वजनिक सरोकार, ठगी आदि विषयसँग सम्बन्धित प्रेस काउन्सिल नेपालमा आर्थिक वर्ष २०७१÷७२ पछि साउनमा ६, भदौमा नौ र असोजमा आठवटा उजुरी परेका छन् ।

आव २०७०÷७१ मा ३९ वटा उजुरी परेका थिए भने आव २०७१÷७२ मा ५१ वटा उजुरी परेका थिए । काउन्सिलमा उजुरी पर्ने सङ्ख्यामा वृद्धि भए पनि असोजमा बन्द, हडताल, नाकाबन्दी र चाडपर्व भएका कारण उजुरीकर्तालाई उजुरी दिन कठिन भएको काउन्सिलको भनाइ छ ।

पछिल्लो पटक संविधान जारी भएपछि करिव दुई महिनादेखि तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका समाचार प्रसारण÷प्रकाशनका क्रममा अलि बढी पत्रकार आचारसंहिता उल्लङ्घन भएको अनुगमनका क्रममा पाइएको काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले बताउनुभयो ।

काउन्सिलका प्रशासकीय अधिकृत दीपक खनालले खासगरी आफूलाई कानुनभन्दा माथि ठान्ने प्रवृत्ति र विभिन्न शक्ति संरक्षणको आडमा आचारसंहिता उल्लङ्घन गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार छापा माध्यम, विद्युतीय माध्यम, अनलाइन, ब्लग र सामाजिक सञ्जालको विरुद्धमा उजुरी पर्ने गरेको छ । पत्रकारिता क्षेत्रलाई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन सञ्चारमाध्यम र पत्रकारले गर्नुपर्ने ११ र गर्न नहुने १४ वटा बुँदामा आचारसंहिता लागू गरेको थियो ।

पत्रकार आचारसंहिता–२०६० संशोधित तथा परिमार्जित–२०६४ मा पत्रकार तथा सञ्चारमाध्यमले प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने, मानवअधिकारको सम्मान गर्नुपर्ने र सत्य–तथ्य सूचनाको सम्प्रेषण गर्नुपर्नेलगायत ११ वटा बुँदा रहेका छन् ।

त्यसैगरी, राष्ट्रिय अखण्डतामा प्रतिकूल प्रभाव पार्न नहुने, सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने, समाचारको गोप्यस्रोत खोल्न नहुने र पीडितलाई थप पीडा हुने गरी सूचना सम्प्रेषण गर्न नहुने लगायतका १४ बुँदा आचारसंहितामा उल्लेख गरिएको छ ।

‘गोरखापत्र प्रकाशन हुनुअघि के छाप्ने र के नछाप्ने भनेर सनद जारी गरिएको थियो । राजा र राणाको गुणगान गाउनुपर्ने र उनीहरूको आलोचना गर्न नपाइने लगायतका बुँदा राखेर सरकारले आफ्नो पत्रिकाका लागि जारी गरेको सनदलाई नै पहिलो आचार विधि मानिन्छ’ भनी काउन्सिलद्वारा प्रकाशित ‘संहिता’ मा उल्लेख गरिएको छ ।

पत्रकार आचारसंहिता उल्लङ्घन बढ्दै गएका कारण पनि काउन्सिलले अनुगमनको पाटोलाई कडाइका साथ तीव्र बनाउँदै लगेको अध्यक्ष कार्कीको भनाइ छ । उहाँका अनुसार अनुगमनका साथै मिडिया जागरण र मिडिया संवादलाई समेत तीव्र बनाइएको छ । “आगामी दिनमा आचारसंहितामा प्रतिबद्ध नभएका सञ्चारमाध्यम तथा सञ्चारकर्मीप्रति काउन्सिल कडा रूपमा प्रस्तुत हुने योजना रहेको छ”, अध्यक्ष कार्कीले भन्नुभयो ।

आचारसंहिता उल्लङ्घन गर्नेलाई काउन्सिलले स्पष्टीकरण सोध्ने, गल्ती सच्याउँदै खण्डनका लागि निर्देशन दिने, अवज्ञा सूचीमा राख्नेबारे सचेतना गराउने, अवज्ञाको सूचीमा राख्ने, प्रेस पास निलम्बन गर्ने र राज्यबाट पाउने सम्पूर्ण सेवासुविधाबाट वञ्चित गर्नेसम्मको कारबाही गर्न सक्नेछ । काउन्सिलमा परेका उजुरीमध्ये अधिकांशलाई कारबाही गरिएको र केही प्रक्रियामै रहेका छन् ।

आगामी दिनमा काउन्सिलले ऐन, संशोधन, परिमार्जन वा संशोधनका लागि पहल गर्ने, आचारसंहिता संशोधन तथा परिमार्जन, प्रेस परीक्षा र मिडिया सङ्ग्रहालय स्थापना गर्ने कार्ययोजना अगाडि बढाएको छ ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आचारसंहिता उल्लङ्घन बढेको भन्दा पनि मानिसमा उजुरी गर्नुपर्छ भन्ने चेतना बढेको हो, जनता जागरुक भएका हुन्, तर पनि कतिपय जिल्लामा आन्दोलनको नाममा पत्रकार आचारसंहिताको उल्लङ्घन भएका छन् भन्नुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकार तथा सञ्चारमाध्यमले आफ्नो पेसाप्रतिको इमानदारितालाई जोगाउन पनि आचारसंहिताको पालना गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले आचारसंहिता पालना नगर्दा सिङ्गो पत्रकारिता क्षेत्र नै कमजोर हुने बताउनुहुन्छ । “उल्लङ्घन बारेमा काउन्सिल एक्लैले भन्दा पनि काउन्सिल र अन्य सरोकारवाला सङ्घसंस्थाले संयुक्त रूपमा अनुगमन गर्नुपर्छ”–क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले भन्नुभयो ।

पत्रकार आचारसंहितामा नै स्नातकोत्तरमा शोधपत्र तयार गर्नुभएका पत्रकार भीष्मराज ओझा आचारसंहिता लागू गराउने जिम्मेवारी काउन्सिलको मात्र नभई सम्बन्धित सञ्चारमाध्यमको पनि हुनुपर्ने बताउनुहुन्छ । रासस