पुनःनिर्माण कार्य यथाशीघ्र अघि बढाउन काँग्रेस सांसद्को माग

कार्तिक ३०, काठमाडौँ – नेपाली काँग्रेसका सांसदहरूले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण कार्य यथाशीघ्र अघि बढाउनुपन जोड दिएका छन् ।

भूकम्प प्रभावित जिल्लाबाट प्रतिनिधित्व गर्ने र व्यवस्थापिका–संसद्को विधायन समितिमा रहेका काँग्रेसका सांसदहरूको बैठकमा भूकम्पपीडितलाई तत्काल राहत र पुनर्वासको व्यवस्था गर्नुपर्ने माग गरिएको हो ।

जाडोयाम सुरु भइसकेको र भूकम्पपीडितले अझै सरकारले घोषणा गरेको राहतसमेत नपाएको भन्दै सांसदले तुरुन्त पीडितलाई राहत दिन सरकारसँग माग गरेको छलफल सहभागी सांसद् नवीन्द्रराज जोशीले बताउनुभयो ।

सांसदहरुले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणसम्बन्धी विधेयक तत्काल व्यवस्थापिका–संसद्बाट पारित गरी पुनःनिर्माण र नवनिर्माणको काम थाल्नुपर्ने सुझाव दिएका थिए ।

काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा भएको बैठकमा सांसदहरुले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणको कार्यलाई सबै दलले राजनीतिकभन्दा पनि मानवीय रुपमा लिएर अघि अढाउनुपर्ने बताएका थिए ।

विधायन समितिमा छलफलका क्रममा रहेको भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणसम्बन्धी विधेयकमा नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतका दलले यसअघि गठित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा भएको नियुक्तिलाई निरन्तरता दिन नसकिने बताउँदै आएका छन् भने काँग्रेसले निरन्तरता दिनुपर्ने माग गर्दै आएको छ । रासस