मधेश आन्दोलन निश्कर्षमा पुर्याउन ओली र प्रचण्डले यसो भने

कार्तिक ३०, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहालबीच अघोषित नाकाबन्दीबाट उत्पन्न समस्या र मधेसी दलसँगको वार्ताका सम्बन्धमा आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मधेसी दलसँगको वार्तालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

आइतबार प्रमुख तीन राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्तालाई निरन्तरता दिई टुङ्ग्याउने र सीमाङ्कनका विषयमा पनि कसरी सहमति जुटाउन सकिन्छ भन्ने बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै सीमाङ्कनमा सहमति जुटाउने र मधेसी दलसँग अलगअलग वार्ता गरी निष्कर्ष निकाल्नुपर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिनुभयो ।