आजदेखि सरकारले दाउरा बिक्री गर्दै

कार्तिक २९, काठमाडौँ – सरकारले खाना पकाउने विकल्प स्वरुप आज उपभोक्ताहरुलाई दाउरा बिक्री गर्ने भएको छ ।

वन मन्त्रालयको निर्णय अनुसार टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन) ले काठमाडौं उपत्यकाका उपभोक्ताहरुलाई आजबाट ग्याँसको विकल्पमा दाउरा विक्री गर्न लागेको हो ।
काठमाडौको गौशाला र ललितपुरको बालकुमारीबाट दाउरा बिक्री गर्न लागिएको छ । एक केजीको १५ रुपैयाँका दरले दाउरा विक्री गरिनेछ । एक महिनासम्म पुग्ने अनुमानसहित एकसय केजी दाउरा एउटा परिवारलाई बिक्री गरिनेछ ।
व्यक्तिलाई एकसय केजीसम्म र संस्थाहरुलाई १७ रुपैयाँका दरले ५ सय केजीसम्म दाउरा विक्री गर्ने व्यवस्था मिलाइएको छ । मुढा नचिरी उपभोक्ताहरुलाई विक्री गर्ने तयारी गरिएको छ ।
टिसीएनले आफूले मुढा विक्री गरेपनि दुवै डिपोमा मुढा चिर्नका लागि मजदूरको व्यवस्था हुने बताएको छ । मुढा चिर्न लाग्ने खर्च भने उपभोक्ताले आफैं व्यहोर्नुपर्ने टिसीएनका गौशाला डिपो प्रमुख सुरेश रिजालले बताउनुभयो ।