आप्रवासी कामदारको विषयमा छलफल गर्न आयोगको टोली कतार प्रस्थान

कार्तिक २९, काठमाडौँ – आप्रवासी कामदारको विषयमा छलफल गर्न राष्ट्रिय मानव अधिकार आयोगको एक प्रतिनिधिमण्डल आज कतार प्रस्थान गरेको छ । आयोगका अध्यक्ष अनुपकुमार शर्माको नेतृत्वमा रहेको तीन सदस्यीय टोली आज कतार प्रस्थान गरेको हो ।

आयोगले आज जारी गरेको विज्ञप्तिअनुसार त्यहाँ रहँदा प्रतिनिधिमण्डलले कतारको राष्ट्रिय मानव अधिकार समितिका अध्यक्षसँग भेटघाट तथा छलफल गर्नेछ । यस्तै कतारस्थित आप्रवासी नेपाली कामदारको मानवअधिकार संरक्षण तथा सम्बद्र्धनका लागि आवश्यक पहल गर्नेछ ।

भ्रमणका क्रममा आप्रवासी कामदारको सम्बन्धमा दुई आयोगबीच सहकार्य, समन्वय र सूचना आदानप्रदानका विषयमा छलफल हुने आयोगले जनाएको छ ।

आयोगका कायम मुकायम सचिव वेदप्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तिअनुसार भ्रमणमा दुई पक्षीय मानव अधिकारको चासो तथा आपसी हितका विषयमा छलफल हुनेछ । प्रतिनिधिमण्डल आगामी मङ्सिर १ गते स्वदेश फर्कनेछ । रासस