आन्दोलनकारीलाई राष्ट्रपतिको आह्वान : नेपाली भएर सोच्नुहोस, संविधान परिमार्जन गर्न सकिन्छ

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो समुदायमात्रै खोजेर हिँड्ने मानिस कहाँ पुग्छ भन्ने ठेगान नरहेको भन्दै सर्वप्रथम हामीले नेपाली भएकोमा गर्व गर्नुपर्ने बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानमा अधिकार पाइएन भनी आन्दोलन गरिरहेकाहरुलाई लक्षित गर्दै भनेकी छिन्- ‘हामी सबैका इच्छा आकांक्षाहरु एकैचोटि पूरा हुन सक्दैनन् । ….संविधानको कुन धारामा के चाहिँ कुरा पुगेन ? त्यो हामीले छलफल गर्नुपर्छ ।’
राष्ट्रपतिको सपथ ग्रहण एवं पदभार ग्रहण गरेकै दिन भण्डारीले विहीबार सरकारी सञ्चारमाध्यम नेपाल टेलीभिजनलाई अन्तरवार्ता दिएकी थिइन् । सो अन्तवार्तामा उनले सबै नेपालीहरुले सर्वप्रथम नेपाली भएकोमा गौरब गर्नुपर्ने र सबैले एकतावद्ध भई नवनिर्माणमा लाग्नुपर्ने बताइन् । संविधानमा असन्तुष्ट रहेका दलसँगको वार्ताको प्रशंगमा उनले भनिन्- ‘राष्ट्रपतिले वार्ता गर्ने होइन, सबै काम सरकारले गर्छ ।’
सरकारी टेलीभिजनमा प्रसारित राष्ट्रपति भण्डारीको अन्तरवार्ताको सम्पादित अंश यस्तो छ :
नेपालको प्रथम महिला राष्ट्रपति चयन भएकोमा तपाईलाई कस्तो लागेको छ ?
मलाई खुशी लागेको छ । म खुशी व्यक्त गर्न चाहन्छु । सबै नेपालीसँगै यो नेपाली महिलाहरुका लागि पनि खुशीको क्षण हो भन्ने मलाई लाग्छ ।
संविधान जारी भइसकेपछि यसको कार्यान्वयनका पनि चुनौतीहरु छन् । राष्ट्रपति भइसकेपछि अब यो संविधान कार्यान्वयनमा यहाँको भूमिका कस्तो रहन्छ ?
संविधानको परिधिभित्र रहेर संविधानलाई कार्यान्वयन गर्ने हो । संविधान कार्यान्वयन गर्ने प्रक्रिया सुरु भइसकेको छ । अहिलेको संविधान दुई/दुईपटक संविधानसभाको निर्वाचनबाट बनेको संविधान हो । त्यो मानेमा अलि परिपक्व नै छ भन्ने हामीलाई लागेको छ । यो संविधानलाई कार्यान्वयन गर्न राष्ट्रपतिको हैसियतबाट मैले गर्नुपर्ने काम गर्छु ।
संविधान जारी गर्नुभन्दा अघि यो संविधानमा महिलाहरुको अधिकार कम भएको हो कि भनेर आवाज आइरहेको अवस्थामा पहिलो महिला राष्ट्रपति बन्नुभएको छ, उहाँहरुलाई के भन्न चाहनुहुन्छ ?

कहिलेकाहीँ केही पनि नभइरहेको अवस्थामा एकैचोटि धेरै कुराहरु लिन खोज्दाखेरि ती सबै पूरा नहुन पनि सक्छन् । पछिल्लो समयमा महिलाहरु राजनीतिक रुपले अगाडि बढेका छन् र सक्षम पनि छन् । यस सन्दर्भमा निरन्तरता, सक्रियता र राष्ट्रिय भावनालाई ध्यानमा राखेर अगाडि बढेको खण्डमा नेपाली महिलाहरुले धेरै अधिकार प्रयोग गर्न सक्ने वातावरणचाँहि बनेको छ । तर, वातावरण बनेको छ भनेर आफूले प्रयास नगरिकन त अधिकारहरु लिन सकिने कुरा पनि होइन ।
तर, विगतको तुलनामा अहिलेको संविधानमा नेपाली महिलाहरुलाई धेरै अधिकारहरु व्यवस्थित गरिएको छ । तर, त्यो व्यवस्थित अधिकार लिनका लागि आफूले पनि त्यही ढंगले प्रयास गर्नुपर्छ ।
जति ठूलो धारा भए पनि हामी जो पानी लिन जान्छौं, जत्रो भाँडो छ, त्यति नै पानी आउने हो । त्यसैले गर्दाखेरि हामीले चौतर्फी विकासमा ध्यान दिनुपर्छ ।
तपाईले राष्ट्रपति बनिहाल्छु भन्ने कल्पना गर्नुभएको थियो ?
मैले उम्मेवार बन्दा र अन्तिम परिणाम नआउँदासम्म सबै भोटको परिस्थितिलाई हेर्दा त मेरो निश्चितैजस्तो थियो । साथीहरुले पनि निश्चित छ, सुनिश्चित छ भन्नुभएको थियो, तर चुनाव त चुनावै हो नि । अन्तिम परिणाम घोषणा नहुञ्जेलसम्म त म भएँ भनेर कसरी मान्ने र । मैले त्यस्तो मानिँन ।
व्यवस्थापिका संसदमा सभामुखले राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्दाखेरि कस्तो महसुस भयो ?
अब मलाई एउटा जिम्मेवारी आएको छ । यो जिम्मेवारीलाई मैले पूरा गर्नुपर्ने भयो । राजनीतिमा सक्रिय जीवन बिताइरहेको, यो एउटा संवैधानिक पद भएको हुनाले यसका सीमाहरु हुन्छन् । यसका लागि, देशका लागि काम गर्दा ठीकै हुन्छ भनेर, यो जिम्मेवारी बहन गर्नुपर्छ । खुशी हुने भनेर छताछुल्ल हुने स्थिति पनि भएन । दुखी त कसरी हुने र, राष्ट्रको एउटा सर्वोच्च, गरिमामय पदमा पुग्दाखेरि एकदम खुशी लागेको छ ।
तर, अब मेरा पनि अब केही सीमाहरु, हिजोको जुन स्वतन्त्रता थियो, त्यसमा अब सीमा लाग्यो भन्नेचाँहि मलाई लाग्यो ।
तपाई राष्ट्रपति भैसकेपछि सारा जनतालाई के भन्न चाहनुहुन्छ ?
नेपालका अगाडि ठूलो अवसर छ । अवसरसँगसँगै चुनौतीका पहाडहरु पनि त भइ नै हाल्छन् । म सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई नवनिर्माणको कार्यमा अगाडि बढ्न आग्रह गर्न चाहन्छु । अहिलेको जुन अवस्था छ, यसमा हामी संघर्ष गरेर अगाडि बढ्यौं भने छोटो समयमा नेपालमा आर्थिक उन्नति गर्न सक्छौं भन्ने मलाई लागेको छ । तर, हामीवीचको एकता, हाम्रो भावनात्मक एकता कायम हुनुपर्छ । हामी नेपाली हौं र नेपाली भएर गौरव गर्दै नेपालको नाम उच्च राख्नका लागि काम गर्नुपर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
मुलुकमा अहिले जटिल परिस्थिति छ । दलहरुले आफ्ना मागहरु राखिराखेको अवस्था छ । अर्कातिर भारतले अघोषित नाकाबन्दी गरिराखेको छ । पेट्रोलियम पदार्थको अभाव भएको छ । मधेसी मोर्चाले आन्दोलन गरिराखेको छ । उहाँहरुलाई वार्ताका लागि राष्ट्रपतिको हिसाबले के भन्न चाहुनुहन्छ ?

राष्ट्रपतिले वार्ता गर्ने होइन । सबै काम सरकारले गर्छ । राष्ट्रपतिको काम भनेको संविधानमा परिभाषा गरिएको संविधानको मर्म अनुसार त्यसको पालना गर्ने, संरक्षण गर्ने र संयोजन गर्ने निश्चित कुराहरु छन् । त्यसअनुसार मैले गर्ने हो । मैले चाँहि वातावरण बनाउने, राष्ट्रिय एकताको भावना सार्वभौमिकताको रक्षा, भौगोलिक अखण्डता र सबै समुदाय, नेपाल सबै जातको फूलबारीका रुपमा रहेको नेपाल, हामी आपसमा मिलेर बस्नुपर्छ । हामी सबैका इच्छा आकांक्षाहरु एकैचोटि पूरा हुन सक्दैनन् । त्यसैले मेरो काम भनेको एउटा राष्ट्रिय भावनाका साथ सबैलाई एकताको सूत्रमा कायम राख्नका लागि मैले कोशिस गर्ने हो ।
यो संविधानलाई कसरी कार्यान्वयन गर्ने विचार गर्नुभएको छ ?
यो त क्रमशः हुँदै जाने कुरा हो । समय छ । निर्वाचन आउँछन् । निर्वाचनबाट एक चरण लागू हुन्छ । कति कानूनहरु बनाउनुपर्छ त्यसबाट अर्को लागू हुन्छ । धेरै कानूनहरु बनाउनुपर्ने छ, पुराना कानून पनि संशोधन गर्नुपर्ने छ । त्यसैले ठ्याक्कै यो समयसीमा भन्ने त हुँदैन । तर, मलाई लाग्छ, आउने दुई वर्ष, तीन वर्षभित्र नयाँ संविधान पूर्णरुपमा लागू हुन सक्छ ।
राष्ट्रपति भनेको सर्वोच्च पद हो । यो पदमा पुगेको मान्छेलाई सजिलै भेट्न नसकिएला । तपाईलाई भेट्न चाहने पब्लिकहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?
त्यो त विभिन्न ढंगले गर्न सकिन्छ । पत्रको माध्यमबाट पनि पठाउन सकिन्छ र भेटघाटको व्यवस्थालाई पनि हामीले प्रणालीअन्तरगत व्यवस्थित गर्न सकिन्छ ।
राष्ट्रपति भनेको एकदमै चार दिवारभित्रको जस्तो कुरा पनि भएन । सिस्टममा त बस्नैपर्‍यो सबैजना । यो सिस्टमबाट भेट्न सकिन्छ । राष्ट्रपति पनि एउटा राजनीतिक कार्यक्षेत्रबाट आएको राजनीतिक कार्यकर्ता नै हुन्छ । त्यसको जुन संवैधानिक दायरा हुन्छ, त्यो दायरा ननाघिकन सबै जनसमुदायहरुसँग सम्पर्क गर्न सकिन्छ ।
नेपाल धेरै जातजाति मिलेर बनेको देश हो, उनीहरुका आआफ्ना आकांक्षाहरु छन् । तपाई देश विदेशमा रहेका यी सबै नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
पहिलो कुरा त म नेपाली हुँ भन्ने कुरामा सबैले गौरब गर्नुपर्‍यो । नेपाली नागरिक हो । मानिस हो । मानवताको दृष्टिकोणले पनि सम्झनुपर्छ हामीले । अन्तरराष्ट्रिय क्षेत्रमा पनि मानवता र भातृत्वपूर्ण सम्बन्ध हामीले राख्नुपर्ने हुन्छ । र, नेपालभित्र पनि नेपालीको बन्धुत्वपूर्ण सम्बन्ध राख्नुपर्छ । त्यो बन्धुत्वपूर्ण सम्बन्ध कायम गर्न त्यो भावनाभित्र रहन प्रयास हुन्छ ।
समुदाय विशेष, हिमाल पहाड, तराई, पूर्व र पश्चिम मिश्रति सामाजिक बनोट भएको देश हो । भौगोलिक रुपमा पनि मिश्रति जातीय र सांस्कृतिक हिसाबले पनि विविधतापूर्ण भएकाले गर्दाखेरि आफ्नो मात्रै समुदाय खोजेर हिँड्यौं भने त असम्भव कुरा हो, त्यो मान्छे कहाँ पुग्छ भनेर भन्न सकिँदैन ।
त्यसैले पहिले नेपाल खोज्ने, नेपाली भनेर आफूलाई स्थापित गर्ने, चिन्ने, चिनाउने र बन्धुत्वको भावना जगाउने, जागृत गर्ने, सुदृढ गर्ने र त्यसका साथै एउटा विश्व मानवताको भावना राखेर हिँड्ने । त्यसरी हामी जानुपर्छ र मेरो प्रयास भनेको चाहे पूर्वपश्चिम, उत्तर दक्षिण जहाँसुकै बस्ने, देशको जुनसुकै भूभागमा बस्ने नेपालीले पनि नेपाली भएकोमा गौरब महसुस गर्ने वातावरण बनाउने हुनेछ । कुनै लैङकि समुदाय वा धर्म सम्प्रदायप्रति बायसनेस देखियो पनि होला, तर त्यस्तो गर्नु हुँदैन भन्ने मलाई लाग्छ ।
यो संविधानमा अधिकार कम भयो भनेर आन्दोलन गरिरहेकाहरुलाई के भन्न चाहनुहुन्छ ?
संविधानै लागू नभइकन यो अतृप्तिको कुरा हुन्छ । असन्तुष्टि त छन् तर त्यो असन्तुष्टि र अतृप्ति त काम गर्दै जाँदाखेरि नै त्यसलाई समाधान गर्न सकिने कुरा हो । संविधानको कुन धारामा के चाहिँ कुरा पुगेन ? त्यो हामीले छलफल गर्नुपर्छ र त्यो कति सान्दर्भिक छ भन्ने कुरा पनि गर्नुपर्छ ।
लोकतन्त्रको मूल्य मान्यताभित्र, मानवताको मूल्य मान्यताभित्र संविधानलाई पनि जाँच्नुपर्छ हामीहरुले । अनलाइन खबरबाट