दाउराको प्रयोग बढ्यो

कार्तिक २०, पथरी (मोरङ) – विराटनगरका थापा होटलका सञ्चालक राम थापा हिजोआज दाउरामा चिया, खाजा र खाना बनाउनुहुन्छ ।

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको साढे दुई महिनादेखिको बजार बन्द र भारतको अघोषित नाकाबन्दीले भारतबाट ग्यासको सहज आपूर्ति नभएपछि विराटनगर बजार क्षेत्रका होटल व्यवसायीले दाउराकै प्रयोगबाट खाना, खाजा र चिया पकाउन थालेका छन् ।

थापा होटलका सञ्चालक थापा भन्नुहुन्छ – “दाउरा नबालेर उपाय छैन ग्यास पाइँदैन ।” उहाँमात्र होइन अर्का विराटनगरका होटल व्यवसायी सुबोध काफ्ले पनि ग्यास नपाउँदा निकै हैरान हुनुभएको छ ।

होटल तथा पेयपदार्थ व्यवसायी सङ्घका अध्यक्ष बलराम कारञ्जीतले ग्यासको सहज आपूर्ति नभएका कारण होटल सञ्चालकले दाउराको प्रयोग गर्न थालेको बताउनुभयो । विराटनगरमा साना ठूला गरेर करिब दुई सय होटल सञ्चालित छन् ।

होटलमात्र होइन सर्वसाधारणसमेत दाउराको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । पथरी शनिश्चरे नगरपालिकामा पर्ने बहुसङ्ख्यक ग्रामीण भेगका सर्वसाधारण दाउराको उपयोग गर्न थालेका छन् ।