दाङका अस्पतालहरुमा औषधिको अभाव

कार्तिक २०, तुलसीपुर (दाङ) – भारतको अघोषित नाकाबन्दीका कारण दाङका अस्पतालमा यतिखेर औषधिको अभाव हुन थालेको छ ।

तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल घोराही, प्राथमिक स्वास्थ्य केन्द्र लमहीसहित जिल्लाका सरकारी तथा निजी अस्पतालमा औषधिको अभाव हुन थालेको हो ।

राप्ती अञ्चल अस्पतालमा र उपक्षेत्रीय अस्पताल घोराहीमा रहेको साझा औषधि बिक्री संस्थामा पनि भारतीय औषधि ८० प्रतिशत सकिनुका साथै सुईको समेत अभाव हुँदै गएको ती अस्पतालले जनाएको छ ।

औषधिको अभाव भएपछि उपचार गराउन आउने बिरामीलाई समस्या हुने गरेको ती अस्पतालका चिकित्सक बताउँछन् । रक्तचाप, सुगर, मानसिक समस्या, छारेरोगविरुद्धका औषधि सकिएको साझा औषधि वितरण कक्षहरुले जनाएका छन् ।

त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा र तुलसीपुरमा रहेको तुलसी बाल अस्पतालमा पनि भारतीय औषधिको अभाव हुन थालेको बताइएको छ ।

अस्पतालका चिकित्सक किशोर खत्रीले यस्तै स्थिति रहेमा अब बिरामीलाई कसरी उपचार गर्ने भन्ने समस्या रहेको बताउनुभयो ।