त्रिविका प्राध्यापकको लापरबाहीले उत्तरपुस्तिका हरायो

कार्तिक १३, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको लापरबाहीका कारण स्नातक तह तेस्रो वर्षको परीक्षा दिएका नेपाली विषयका ४२ जना परीक्षार्थीको उत्तरपुस्तिका हराएको छ।

अरू सबै विषय पास भएका विद्यार्थी स्नातकोत्तर तहमा भर्ना हुनबाट वञ्चित भएका छन्।त्रिवि स्रोतका अनुसार उत्तरपुस्तिका परीक्षण गर्न घर लगेका प्राध्यापकले हराइदिएका कारण ती विद्यार्थीको नतिजा रोकिएको अन्नपूर्ण पोस्टमा खबर छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका हराएका विद्यार्थीको नतिजालाई स्थगित (विदहेल्ड) गरेर अन्य विद्यार्थीको नतिजा असोज अन्तिम साता प्रकाशित गरेको थियो।परीक्षा समितिका अध्यक्ष तथा त्रिविका रजिस्ट्रार चन्द्रमणि पौडेलले उत्तरपुस्तिका हराएको स्वीकार गरे।