चुलो नबलेर जनता भोकै, बालुवाटारमा ओलीको भव्य भोज

कार्तिक १३, काठमाडौँ – भारतको नाकाबन्दीसँगै इन्धन संकटले चुलो नबलेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने दलका नेता तथा सांसदलाई भोज खुवाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयन भएको खुसीमा दलका नेता र सांसदलाई सरकारी निवासमा भोज दिएका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित भव्य भोजमा सत्तारुढ दल र प्रतिपक्षी दलका सांसदका साथै अन्य दलनेता समेत गरी करिब ६ सय जना उपस्थित रहेका थिए ।
‘संविधान जारी र त्यसको कार्यान्वयक्रममा सरकार गठन, राष्ट्रपति र सभामुखको निर्वाचन सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्दै दिवाभोज आयोजना गर्नुभएको हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने -‘सत्तापक्ष र विपक्षी दुवैतर्फका सांसद र नेताको सहभागिता थियो ।’
दाहालले सरकारका तर्फबाट नभई ओलीले व्यक्तिगत रुपमा भोज आयोजना गरेको बताए ।