राष्ट्रपति मागेको छैन, जिम्मा दिए नाइँ भन्दिँन – सुवास नेम्वाङ

काठमाडौं –  नेपालको इतिहासमै सबैभन्दा धेरैपटक र लामो अवधि सभामुख हुने अवसर सुवास नेम्वाङले पाए । नयाँ पुस्तालाई सोध्ने हो भने सभामुख भनेकै सुवास नेम्वाङ, सुवास नेम्वाङ भनेकै सभामुख जस्तो समेत परिसकेको छ । दुवै संविधानसभाको अध्यक्ष बनेका नेम्वाङले दुबैपटक सर्वसम्मत हुने अवसर पाए । पुनस्र्थापित प्रतिनिधिसभा, अन्तरिम संसदसमेत गर्दा नेम्वाङ करिव १० वर्षको अवधिमा ४ पटक सभामुख भए । अब राष्ट्रपति एमालेले पाउने अवस्थामा त्यो पदका लागि उपयुक्त पात्रका रुपमा नेम्वाङको चर्चा शुरु भएको छ ।

नेम्वाङले पनि शीतल निवास सर्न रुची देखाएको चर्चा चलिरहेका बेला  मात्रिका पौडेलले उनीसँग गरेको संक्षिप्त कुराकानी यस्तो छ :

 

राष्ट्रपतिमा एकाएक तपाईको नाम आएको छ, तपाई आफ्नैचाहिँ दाबी हो कि होइन ?

मेरो व्यक्तिगत कुनै आग्रह, माग वा दावी कुनै पनि पदमा रहेन र छैन । सबैको सहयोग र समर्थनबाट संविधान बनेको छ । अब यो संविधान कार्यान्वयन गर्दै मुुलुक र जनतालाई सम्वृद्धिका बाटोमा लैजाने सन्दर्भमा मेरो भूमिका जहाँ उपयुक्त हुन्छ, त्यहाँ पार्टी र जनताले दिएको जिम्मा पूरा गर्न तयार छु ।

संविधान जारी गर्न सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने केपी ओली प्रधानमन्त्री बन्नुभयो, त्यसमा साथ दिएर सबै दललाई संविधान निर्माणमा सहभागी गराउने भूमिका कुशलतापूर्वक निर्वाह गरेवापत केही ‘रिवार्ड’ त पाउनुपर्ला नि होइन ?

मैले जे जति काम गरेँ, वा जिम्मेवारी निर्वाह गरेँ, कुनै पुरस्कार वा रिवार्डका लागि होइन । देश र जनताप्रतिको आफ्नो दायित्व निर्वाह गरेको हुँ । यस क्रममा मलाई संविधानसभाभित्र र बाहिर रहेका दलहरुका साथै जनताबाट जुन साथ र सहयोग रहृयो त्यसका कारण यो सम्भव भएको हो । मलाई सबैको सहयोग र शुभकामना रहेकाले संविधान जारी गर्ने अत्यन्त चुनौतिपूर्ण काम सम्पन्न भयो ।

अब आउँदा दिनहरुमा मैले के गर्नुपर्छ भन्ने कुरा मलाई के जिम्मेवारी दिने भन्ने कुरा दलहरुले सोच्ने विषय हो । यसमा मेरो कुनै माग दाबी छैन ।

होइन, तपाईको व्यक्तिगत चाहनाले पनि त काम गर्छ नि ?

व्यक्तिगत रुपमा मेरो चाहना, देश र जनताको हितमा म निरन्तर क्रियाशील रहन्छु भन्ने हो । मैले राजनीतिलाई पेशा मानेको छैन । आफ्नो पेशा व्यवसाय गरेर देश र जनताको हितमा रहन्छु । पदको हिसाबले मेरो कुनै पनि पदमा आशक्ति छैन । मेरो भूमिका कस्तो हुने, मेरो आवश्यकता कहाँ हुने भन्ने कुरा दलहरुले महशुस गर्ने हो ।

तपाईको पार्टी एमालेले सभामुख पदमै दोहोरिनुस् भन्यो वा पार्टी काममा फर्किनुस् भन्यो भने के हुन्छ ?

मैले अघि नै भनिसकेँ, मैले कुनै पद मागेको छैन । देश र जनताको हितका लागि कुनै जिम्मेवारी निर्वाह गर् भनेर दलहरुले भन्छन्, त्यही मान्छु ।

संविधान कार्यान्वयनको चरण शुरु भएको छ, संविधान जारी गर्ने दलहरु नै पक्ष र प्रतिपक्षमा भएको अवस्थामा तपाईको भूमिका के हुन्छ अब ?

संविधानलाई कार्यान्वयन गर्ने दायित्व प्रमुख दलहरुकै हो । हिजोको संविधानसभाभित्र रहेका र नरहेका सबै दलहरुलाई एकै ठाउँमा ल्याउनुपर्छ भनेर मैले भनिरहेको छु । सबै दलहरुलाई एकै ठाउँमा ल्याउने मेरो प्रयास व्यक्तिगत रुपमा जारी नै छ । दलहरु एक ठाउँमा हुनुपर्छ भन्ने मेरो प्रयास रहेको हो, अहिले पनि रहन्छ । म कुनै पदमा रहँदा होस वा नरहँदा होस्, मेरो भूमिका त्यसमा सदा सर्वदा रहन्छ ।

तर, सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै बाहिर बसेको अवस्थामा अबका दिन कति सहज होलान् ?

नेपाली कांग्रेसको बारेमा मलाई कुनै भ्रम छैन । हिजो आन्दोलनदेखि अहिलेसम्म सदा सर्वदा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको छ । सबै दलहरुबीच मेलमिलाप कायम गरेर संविधान कार्यन्वयनको चरणमा जान कांग्रेसबाट कुनै अवरोध होलाजस्तो मलाई लाग्दैन ।

नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र मधेसवादी दलहरु मिलेर अघि बढ्नुपर्छ र मिल्छन् भन्ने मलाई विश्वास छ ।

तर, मधेसवादी दलहरु त संविधान नै मान्दैनौं भनेर आन्दोलनमा छन्, कसरी होला र ?

प्रधानमन्त्री निर्वाचनमा सबै दलहरु सहभागी भएर यो संविधानको कार्यन्वयन शुरु भइसकेको छ । सबै दलहरुले संविधानलाई स्वीकार गरेर मुलुकलाई र अन्तर्राष्ट्रिय समुदायलाई सकारात्मक सन्देश दिइसकेका छन् । अब यही अवसरलाई सदुपयोग गरेर अरुका असन्तुष्टिलाई पनि संविधानमा समेट्न दलहरुबीच एकता हुनुपर्छ ।

कांग्रेस प्रतिपक्षमा पुगेको छ, संविधान संशोधनलगायतका काममा दुई तिहाई बहुमत चाहिन्छ, तपाईको बिचारमा यो सम्भव छ ?

जहाँसम्म देशको समस्या सम्बोधन गर्ने प्रश्न छ, ती प्रश्नमा सबै दलहरु एक ठाउँमा उभिन्छन् भन्ने मेरो विश्वास र कामना छ । प्रधानमन्त्री निर्वाचनकै दिन दलका नेताहरुले यो प्रजातान्त्रिक अभ्यास गरेका हौं, अब हामी सहमतिकै आधारमा अघि बढ्छौं भनिसक्नुभएको छ । मलाई यसमा कत्ति पनि आशंका छैन ।

साभार – अनलाइनखबर