ओलीका लागि माओवादी अछ्युँ, पूर्वपञ्च बछ्युँ !

काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई उनका समर्थकहरु अडान भएका नेता मान्छन् । तर, विगतमा उनले माओवादीका सन्दर्भमा बोलेका कुरा र अहिले भइरहेको गठबन्धनलाई तुलना गर्ने हो भने ओलीको अडानमाथि आशंका गर्ने ठाउँ प्रसस्तै देखिन्छ ।

यसैसन्दर्भमा अनलाइनखबरले केपी ओलीको एउटा पुरानो भाषणको रेकर्ड फेला पारेको छ । सो भिडियोमा गत संविधानसभा चुनावमा माओवादी र राजावादीको नाम लिँदै ओलीले भनेका छन्- अछ्युँ खाएँ, बछ्युँ खाएँ, झुँसे बारुलोको के कुरा गर्नू !’
एमाले अध्यक्ष ओलीले झापाको क्षेत्र नं ६ स्थित गौरादह बजारमा गरेको भाषणको भिडियो अनलाइनखबरले फेला पारेको छ । सो भिडियोमा ओलीले एमाओवादीलाई मावनताविरोधी शक्तिका रुपमा चित्रण गरेका छन् ।
तर, अहिले तिनै माओवादी र पूर्वपञ्चलाई दायाँ वायाँ राखेर सरकार चलाएपछि झापाका एमाले कार्यकर्ताले आश्चर्य व्यक्त गरेका छन् ।
झापाको गौरादहबाट केपी ओलीको भिडियो बोकेर अनलाइनखबरको कार्यालयमा आइपुगेका एकजना एमाले कार्यकर्ताले भने- ‘पहिले माओवादी र पञ्चहरुलाई जंगलीहरुजस्तै गरी निन्दा गर्नुहुन्थ्यो, अहिले तिनैको सहायतामा उहाँ प्रधानमन्त्री छानिँदा हामीलाई यो भिडियोको पुनः याद आयो ।’

झापा क्षेत्र नं ७ का जनप्रतिनिधि रहेका प्रधानमन्त्री ओलीले चुनावका बेला भाषण गर्दै भनेका थिए कि झापा क्षेत्र नं ६ बाट दीपक कार्कीलाई जिताएर पठाएको खण्डमा मन्त्री बनाइनेछ ।

भिडियोमा ओलीले कार्कीजीलाई सभासद जिताएर पठाए यो क्षेत्रले सांसदमात्रै होइन, मन्त्री नै पाउने बताएका छन् ।
तर, अहिले दीपक कार्कीलाई मन्त्री नबनाई सोही गाउँका अग्नि खरेललाई मन्त्री बनाइएपछि कार्की पक्षधरहरु ओलीको भिडियो बोकेर सञ्चारमाध्यमसम्म धाउन थालेका हुन् ।
‘कार्की गौरादहका पुराना र स्थापित नेता हुन्, अग्नि खरेललाई हामी चिन्दैनौं, कार्कीलाई मन्त्री नबनाइएकोमा गौरादहबासीको चित्त दुखेको छ’, भिडियो लिएर अनलाइनखबरमा आएका ती एमाले कार्यकर्ताले भने ।
‘नेताले चुनावका बेला बोलेका कुरा पूरा गर्नुपर्छ, यदि प्रधानमन्त्री ओली यदि वचनका पक्का हुन् भने आफूले बोलेको कुरामा अडियुन् ।­’
प्रधानमन्त्री केपी ओलीले कानूनका विज्ञ अग्नि खरेललाई कानूनमन्त्री बनाएपछि सांसद दीपक कार्की रिसाएका हुन् । पूर्वप्रधानपञ्चसमेत रहेका सांसद कार्कीले एसएलसीसम्म अध्ययन गरेका छन् ।