उत्तरी आयरल्याण्ड पहिलो पटक युरो कपका लागि छनोट

असोज २२ , काठमाडौं – उत्तरी आयरल्याण्ड पहिलो पटक युरो कपका लागि छनोट भएको छ ।

बिहीबार राति भएको खेलमा ग्रिसलाई ३-१ ले पराजित गर्दै आयरल्याण्ड ३० वर्षपछि ठूलो प्रतियोगिताका लागि छनोट भएको हो । यसअघि उसले १९८६ मा विश्वकप खेलेको थियो ।

विन्डसर पार्कमा भएको खेलमा उत्तरी आयरल्याण्डका लागि कप्तान स्टिभन डेभिसले दुई गोल गरे । डेभिसले ३५ औं मिनेटमा गोल गरेपछि आरयल्याण्डले पहिलो हाफमा एक गोलको अग्रता लियो ।

दोस्रो हाफको ४९ औं मिनेटमा जोस मगानेसले गोल गरे । ५८ औं मिनेटमा डेभिसले दोस्रो गोल गर्दै टीमलाई ३-० को अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा ग्रिसले सान्त्वना गोल गरेको थियो ।

यसअघि उत्तरी आयरल्याण्डले विश्वकप खेल्दा कप्तान डेभिस एक वर्षका थिए भने अहिले टीममा रहेका धेरै खेलाडी जन्मिएका समेत थिएनन् । तर, युरो कप छनोटको १४ सिजनको असफलतालाई तोड्दै डेभिसको टीमले उत्तरी आयरल्याण्डका समर्थकलाई खुसी दिलाएको छ ।

साउथ हृयाम्पटनका मिडफिल्डर समेत रहेका कप्तान डेभिसले देशका लागि १३ खेलमा पहिलो गोल गरेका हुन् । २५ वर्षका जोस मगानेसको भने पहिलो गोल हो, जसले यू-१७ सम्म देशको टीममा गोलकिपर थिए ।

कार्डिफ सिटीले गोलकिपरमा नसक्ने भन्दै उनलाई स्ट्राइकरको भूमिकामा खेलाउन थालेको थियो । त्यो नै उनको करियरको टर्निङ प्वाइन्ट बन्यो र स्कटिस प्रिमियरसिप खेले ।