कोइरालासँग कुरै गर्न चाहँदैनन् मोदी

असोज २२ , काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले छिमेकी भारतद्वारा दुई सातादेखि लगाएको अघोषित नाकाबन्दी हटाउन भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रत्यक्ष संवाद गर्न प्रयास गरिरहे पनि सफल हुन नसकेको कूटनीतिक अधिकारीहरूले जानकारी दिएका छन् ।

कोइरालाले संविधान जारी भएकै दिनदेखि मोदीसँग टेलिफोन वार्ता गर्न खोजेका थिए । ‘मोदीले नेपालको विषय सुन्नै नचाहेका कारण वार्ता हुन नसकेको हो,’ प्रधानमन्त्री निकाटस्थ अधिकारीले भने, ‘आन्तरिक समस्या समाधान नगरेसम्म वार्ता गरेर के गर्ने भन्ने सन्देश मोदीले दिएका छन् ।’
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि नेपाल आएर दिल्ली फर्केलगत्तै मोदीलाई भेटन विदेश मन्त्रालयमार्फत् कोसिश गरेका हुन् तर सकेका छैनन् ।
‘मैले भेट्न खोजेको छु । अनि टेलिफोन वार्ताको लागि पनि पहल भइरहेको छ । हामी सम्पर्कमा रहेर काम गरिरहेका छौ । प्रगति हुन–हुन खोज्छ अनि फेरी त्यसै हुन्छ ।
लाग्छ समस्याको समाधान छिटै होला, नभएसम्म के भन्नु,’ उनले भने, ‘सरासर अन्याय पनि सहनुपर्ने जस्तो देखियो तर पहल भइरहेकै छ आजको कान्तिपुरमा समाचार छ ।