मंगलग्रहको सतहमा बग्ने पानी रहेको पुष्टि

असोज १२, काठमाडोँ – मंगलग्रहको सतहमा बग्ने पानी रहेको पुष्टि भएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाका अनुसार मंगलग्रहको सतहमा बग्दै गरेको पानी भेटिएको छ । यसले मंगलग्रह भौगोलिक रुपमा सक्रिय रहेको र त्यहाँ मानवबस्ती हुन सक्ने सम्भावना पनि बढाएको नासाले दाबी गरेको छ ।

नासाको उपग्रहमार्फत पाएको जानकारी अनुसार मंगलग्रहमा बग्दै गरेको पानीको स्पष्ट संकेत देखिएको छ । पछिल्लो पटक देखिएको पानी नुनीलो हुनसक्ने वैज्ञानिकले जनाएका छन् । वैज्ञानिकका अनुसार गर्मीको समयमा मंगलग्रहका केही विषेश क्षेत्रमा नुनीलो पानीको धारा बग्ने गरेको हो । गर्मी बढ्दै जाँदा पानीका यी धार पनि बढ्दै जाने तर अरु बेला भने सुक्ने गरेको नासाले जनाएको छ । यस अघिको अनुसन्धानका क्रममा मंगलग्रहमा जमेको पानी भेटिएको थियो ।