भारतले नेपालमा अघोषित नाकाबन्दी कारण देशभर पेट्रोलियम पदार्थको अभाव

असोज १२, काठमाडोँ – भारतले नेपालमा अघोषित नाकाबन्दी थालेको हप्ता दिन भएसँगै देशभर पेट्रोलियम पदार्थको अभाव भएको छ । जोर बिजोर आधारमा गाडी सञ्चालन र कोटा प्रणालीमा तेल वितरण हुन थालेपनि अवस्था सहज हुन सकेको छैन ।

सरकारले समस्या समाधानको लागि खासै पहल नगरे पनि नाकाबन्दी खुलाउन कुटनीतिक पहल भने थालेको छ । भारतको नाकाबन्दीपछिको अवस्थाबारे छलफल गर्न भारत जानुभएका उद्योग मन्त्री सुनिल थापाले आज पनि विभिन्न पक्षसँग छलफल र भेटवार्ता गर्नुहुने भएको छ । नाकाबन्दी हटाउने कुटनीतिक प्रयासस्वरुप सरकारी टोलीको नेतृत्व गर्दै हिजो नयाँ दिल्ली जानुभएका मन्त्री थापाले हिजो त्यहाँका विदेश मन्त्री सुष्मा स्वराजसँग छलफल गर्नुभएको थियो । आज पनि उहाँलेस वाणिज्य, अर्थ र पेट्रोलियम मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भारतले नाकाबन्दी गरेकोबारे सरकारले अन्तर्रा्ष्ट्रिय समुदायलाई जानकारी गराएको थियो । हिजो अर्थमन्त्री डा. रामशरण महतले बहुपक्षीय र दुईपक्षीय गरी झण्डै तीन दर्जन विकास साझेदारलाई भेला गराएर संविधान निर्माणपछिको अवस्था र भारतको नाकाबन्दीबारे जानकारी गराएको हो ।