संविधानसभा धारा पारित गर्ने क्रम आज पनि जारी

भदौ ३० , काठमाडौं – संविधानसभा विधेयक २०७२ का बाँकी धारा पारित गर्ने प्रक्रिया आज पनि जारी रहने भएको छ । हिजो बाँकी रहेका १ सय २६ धारा आज बस्ने संविधानसभा बैठकबाट पारित गरिनेछ । सम्भव भएसम्म आजै सबै धारा पारित गरिने संविधानसभा सचिवालयले जनाएको छ ।
संविधानका ३ सय २ मध्य १ सय ७६ वटा धारा हिजोसम्म पारित भएका छन् । यी धाराहरु पारित हुँदै संविधानका अंग बनेका छन् । संविधानको विधेयकमाथिको मतदानको क्रम आज बिहान साढे १० बजे बस्ने संविधानसभा बैठकबाट फेरि सुरु हुनेछ ।
भोलिसम्ममा संविधानका सबै धारा, प्रस्तावना र अनुसूचि पारित गरी संविधानको अन्तिम विधेयकमा सभासद र सभाध्यक्षको हस्ताक्षर गराइसक्ने र छपाइमा पठाउने तयारी सचिवालयले गरिरहेको छ ।