काठमाडौंमा तरकारीको भाउ महंगीयो

भदौ २८, काठमाडौँ – चाडपर्व नजिकिएसँगै काठमाडौंको बजारमा तरकारीको भाउ महंगिएको छ । हिजो अस्तिको तुलनामा आज १० देखि २० प्रतिशतले तरकारीको भाउ बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार आज काउली र गोलभेंडाको भाउ धेरै महंगिएको छ । काउली किलोको ८० रुपैयाँ थोक मूल्य पुगेको छ भने गोलभेंडा पनि भाउ बढ्दै किलोको ४० रुपैयाँ थोक मूल्यमा कारोबार भैरहेको छ ।

यस्तै आज भेडे खुर्सानी र पीरो खुर्सानी किलोको ६०, लोकल काँक्रो ५०, हाईब्रिड काँक्रो २०, लौका १८ देखि २०, बोडी ४० देखि ४२, बन्दा ४० देखि ४५, रातो नेपाली आलु ३९, भारतीय रातो आलु २६ र प्याज किलोको ९६ रुपैयाँँ थोक मूल्य छ । बजारमा ७ सय मेट्रिक टन भन्दा धेरै तरकारी आयात भएपनि माग बढ्दै जाँदा भाउ पनि महंगो भएको हो ।