संविधान विधेयकमा आज मतदान प्रक्रिया सुरु गर्ने तयारी

भदौ २७, काठमाण्डौ –  संविधान विधेयकमाथि छलफल गर्न संविधानसभाको बैठक बस्दैछ । संविधानसभा सचिवालयले आज संविधान विधेयकलाई मतदानमा लैजाने अन्तिम तयारी गरेको छ । साढे ११ बजे सुरु हुने बैठकको सुरुमै चार प्रमुख दलका शीर्ष नेतालाई बोल्न दिएपछि प्रक्रिया अघि बढाइने छ । संविधानसभाको प्रक्रिया दुई दिनलाई स्थगित भएको थियो ।
कांग्रेस, एमाले र एमाओवादीले असन्तुष्ट दलहरूलाई वार्तामा आउन बिहान ११ बजेसम्मको म्याद दिएका थिए । सभाध्यक्ष नेम्वाङसहित सचिवालयका कर्मचारीले हिजो दिनभर कार्यतालिका तयारीका विषयमा छलफल गर्नु भएको थियो ।
आज सुरुमा मुख्य दलका नेताले मन्तव्य राखेपछि केही समयका लागि बैठक स्थगित हुने र त्यसपछि मतदान प्रक्रियामा लैजाने तयारी भइरहेको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुँईकेलले जानकारी दिनुभयो ।
नयाँ संविधानको मस्यौदा विधेयकमा परेका संशोधन प्रस्तावलाई सुरुमा ध्वनी मतमा लगिनेछ । त्यसपछि संविधानका सबै धारालाई एकएक गरी पारित गर्ने तालिका छ ।
दुवै प्रक्रिया ध्वनी मतको साटो मतदानबाट गर्न १० प्रतिशत अर्थात ६१ जना सभासदले माग गर्नु पर्छ । यी दुवै प्रक्रिया सकिएपछि भने संविधानको अन्तिम विधेयक तयार हुनेछ । भदौ अन्तिम साता संविधान जारी गर्ने तयारी छ ।