संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा तीन वटा सरकारी कार्यालयमा आगजनी

भदौ २४, राजविराज  – संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा तीन वटा सरकारी कार्यालयमा आगजनी गरेका छन् ।  मोर्चाका कार्यकर्ताल बुधबार राती सदरमुकाम राजविराजमा रहेको जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट जिल्ला पशु सेवा कार्यालय र जिल्ला वन कार्यालयमा क्षति पुगेको छ भने शिक्षा कार्यालयमा लगाएको आगो कर्मचारी नियन्त्रणमा लिएका थिए ।
बिहीबार पनि बिहानैदेखि मोर्चाका कार्यकर्ताले राजबिराजमा प्रदर्शन जारी राखेका छन् । उता, प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले भारदह र पोर्ताहमा बुधबार दिउँसो २ बजेदेखि लगाएको कर्फ्यु बिहीबार बिहान ६ बजे हटाएको छ । कर्फ्यु  हटाएसँगै यहाँ पनि प्रदर्शन शुरु भएको छ । सप्तरीको भारदह पोर्ताह चोकमा प्रहरी र प्रदर्शनकारीबीच बुधबार भएको झडपमा एक जनाको मृत्यु भएको थियो । अबरुद्ध बाटो खुलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा पोर्ताह–१ का ६० वर्षीय रामकृष्ण राउतको मृत्यु भएको हो ।
यसैविच प्रस्तावित ७ प्रदेशको संघियताको सिमाकंनको बिरोध गर्दै आएको किरात याक्थुङ्ग चुम्लुङ्ग पार्टीले ३६ घण्टे अरुण पुर्वका  जिल्लामा आम हड्तालको आव्हान गरेको छ । नयाँ बन्ने संविधानमा प्रस्ताव गरिएको १४ जिल्लासहितको प्रदेश हुन नहुने र त्यसमा ९ जिल्ला मात्रै समावेश गरेर एउटा प्रदेश बनाउनुपर्ने र त्यसको नाम लिम्बुवान प्रदेश नै हुनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेको छ ।