वीरगन्ज आसपासमा स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यु आज केही खुकुलो

भदौ २० , काठमाडौँ – वीरगन्ज आसपासमा स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यु आज केही खुकुलो पारे पनि अझै पूर्ण रुपमा हटाएको छैन । सुरक्षा संवेदनशीलतालाई हेरेर भदौ १४ गतेबाट यस क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो । हिजोबिहान ९ बजेदेखि २ बजेसम्मको लागि कर्फ्यु हटाएपनि फेरी २ बजेदेखि कर्फ्यु लगाइएको हो ।
लगातारको कर्फ्युले स्थानीयको दैनिकी निक्कै कष्टकर बन्दै गएको छ । यसैबीच, गत सोमबार प्रहरीले चलाएको गोली लागि मृत्यु भएका पाँचै जनाको शनिबार सामूहिक अन्त्येष्टि गरिएको छ । उता, संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द आइतबार २३ औं दिनमा पुगेको छ । बन्दका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।
आन्दोलनका क्रममा दिनहुँ हुने प्रदर्शन र बन्दले गर्दा यि जिल्लामा यातायातको साथै कलकारखाना, बजार, शैक्षिक संस्थाहरु ठप्प छन् । चितवनदेखि कञ्चनपुरसम्म थरुहट संघर्ष समितिले गरेको बन्द २७ दिनमा पुगेको छ । पश्चिमी केही जिल्लामा संयुक्त मधेशी मोर्चाको बन्द पनि यथावत छ ।
दोहोरो बन्दको मार खेपिरहेका पश्चिमी जिल्लामा सबैभन्दा बढी मारमा यातायात व्यवसायी परेका छन् । लामो समयको बन्दले आजित बनेपछि बजार भने स्थानियले फाट्टफुट्ट खोल्न थालेका छन् । यि जिल्लाका अधिकांश स्थानमा अझै निषेधाज्ञा जारी नै रहेको छ ।