भूकम्पमा निधन भएकाको शव जलाएर गरियो विद्युतीय शवदाह गृहको परीक्षण

भदौ  १८,  काठमाडौँ  –  पशुपति क्षेत्र विकास कोषले निर्माण गरेको नेपालकै पहिलो विद्युतीय शवदाह गृहको परीक्षण भएको छ । यही असोज १ देखि सञ्चालनमा ल्याइने सो शवदाह गृहमा आज ‘गोर्खा भूकम्प’ का क्रममा निधन भएका एक बेवारिस शव जलाइएकोे थियो ।

भक्तपुरका निवासी ती मृतकको शव गत वैशाखदेखि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । कोषका सदस्यसचिव डा गोविन्द टण्डनले सामान्यतः ४५ मिनेटमा अन्येष्टि हुने भएपनि पहिलो परीक्षण भएकाले करिब एक घन्टा समय लागेको बताए ।

शुक्रबार पनि शवदाह गृहमा परीक्षण हुनेछ । पशुपति गौशालास्थित पिङ्गलस्थान पुलनजिक बाग्मती नदी किनारमा शवदाह गृह निर्माण कार्य २०६८ मङ्सिरमा सुरु भएको थियो । शवदाह गृह निर्माण गर्न रु ११ करोड खर्च भएको जनाइएको छ । विद्युतीय शवदाह गृहमा दुईवटा शवदाह यन्त्र जडान गरिएको छ ।