सेना परिचालन गरी जारी गरिने संविधान दिगो हुँदैन– अध्यक्ष थापा

भदौ १५, काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधान जारी गर्ने बेलामा सेना परिचालन हुनु अस्वाभाविक भएको बताउनुभएको छ ।

पार्टीले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्ने क्रममा उहाँले संविधान जारी हुँदा जनतामा उत्साह र उमङ्ग हुनुपर्नेमा विभिन्न स्थानमा द्वन्द्व, हत्या र हिंसाका घटना हुनु दुःखदायी रहेको विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा जारी गरिने संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका उपाध्यक्ष टङ्क ढकाल, प्रवक्ता विष्णु भट्टराई, सहायक महामन्त्री डा गीताभक्त जोशी, केन्द्रीय सदस्य राजाराम बर्तौलालगायतले जनताको भावना संविधानमा समेट्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि त्रिपुरेश्वरमा पार्टीका कार्यकर्ता जम्मा भई पदयात्रा गर्दै नयाँबानेश्वरस्थित संविधानसभा भवन अगाडि पुगी सभामा सहभागी भएका थिए । रासस