आगलागीबाट रु २५ लाख बढीको क्षति

भदौ ७, सोलुखुम्बु – कागेल–७ सोलुखुम्बु निवासी कुलकुमार बस्नेतको घरमा आइतबार साँझ आगलागी हँुदा करिब रु २५ लाख बराबरको क्षति भएको छ ।

अचानक आगलागी हुँदा घर पूरै जलेको छ । तीन तले घरसँगै रु १३ लाख ५० हजार बराबरको सुनचाँदी, लत्ताकपडा, अन्न र नगद रु एक लाख ५० हजार जल्दा करिब रु २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिनुभयो ।
कागेलका स्थानीयवासी, कागेल विमानस्थलका सुरक्षाकर्मीले साँझ ७ बजे आगो नियन्त्रणमा लिएका थिए । अगेनाको माथिल्लो भागमा दाउरा सुकाई राखिएको र त्यहीँबाट आगो सल्किएको अनुमान गरिएको छ । बस्नेत जीवनज्योति उच्च मावि कागेलमा कार्यरत शिक्षक हुनुहुन्छ । रासस