बन्दका कारण आज राजधानी लगायत देशभरको जनजीवन प्रभावित

साउन ३१, काठमाडौँ – ६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दका कारण आज राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आह्वान गरेको बन्दमा मधेसवादी केही दल र जनजातिले समेत समर्थन जनाएका छन् ।
बन्दकर्ताले बबरमहलमा बा २ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन् । जबरजस्ती बन्दै गराउँदै हिडेका बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । कालिमाटी बल्खु क्षेत्रबाट १४ जना, कोटेश्वरबाट ६ जना र रत्नपार्क क्षेत्रबाट ५ जना पक्राउ परेका छन् । बन्दका कारण देशका विभिन्न स्थानको जनजीजन प्रभावित भएको छ ।
सीमांकनको विरोधमा बैद्य माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, लिम्बुवानसहितका पार्टीले आज र भोलि बन्द आह्वान गरेका छन् ।
तराईका जिल्लाहरुमा भने दोहोरो बन्द परेको छ । थरुहट तराई संघर्ष समितिले एक प्तादेखि लगातार बन्द गर्दै आएको छ । लगातारको बन्दले थारु बाहुल्यता रहेको कैलाली, बा“के, बर्दिया, नवलपरासी लगायतको जनजीवन कष्टकर बनेको छ ।
बन्दका कारण राजधानीको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । सडकमा फाट्टफुट्ट निजी सवारी साधन चले पनि भाडाका सवारी साधन संचालन भएका छैनन् । अन्य बन्दको तुलनामा आज सडकमा मोटरसाइकलको संख्या पनि निकै कममात्र देखिएको छ ।
राजधानीका विभिन्न चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सुरक्षाकर्मीले केही स्थानबाट बन्दकर्तालाई नियन्त्रणमा समेत लिएको छ ।
पश्चिम तराई, मध्यपश्चिम, सुदुरपश्चिम लगायत देशका विभिन्न भागमा यसअघि नै सीमांकनप्रति असहमति जनाउँदै सवारी साधन, बजार तथा उद्योगधन्दा बन्द हुँदै आएको थियो । आजको बन्दले देशभरको जनजीवन थप प्रभावित भएको हो ।
यसैविच हिन्दु राष्ट्र बचाउ अभियानको आयोजनामा आव्हान गरिएको धौलागिरी अञ्चल बन्दले चार जिल्ला ठप्प भएका छन् । नेपाललाई हिन्दु राज्य घोषणा गर्न माग गर्दै बिरोध स्वरुप बन्दको आव्हान गरिएको हो । यता अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेत हुनुपर्ने माग राख्दै सुर्खेतमा जारी अन्दोलनको आज पनि जारी छ । अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेत हुनुपर्ने माग राख्दै यहि साउन २४ बाट सरु भएको आन्दोलन आज पनि विभिन्न ठाउँमा जारी छ । यसैबीच आन्दोलनका क्रममा मृत्यु भएका परिवार र आन्दोलनकारीहरुले अखण्ड मध्यपश्चिम र संघिय राजधानी सुर्खेतमा नभएसम्म शव नबुझ्ने वताएका छन् ।
स्वायत्त कर्णाली प्रदेशको माग गर्दे आएका जुम्लाका राजनितीक दलहरुले आजदेखि आन्दोलनका रुप परिवर्तन गर्ने भएका छन् । सरकारको ध्यानाकर्षण गर्ने किसिमका आन्दोलनका कार्यक्रम गर्ने दलहरुबिच समझादारी भएको विप्लप माओवादी जुम्लाका चन्द्रबिर तिरुवाले जानकारी दिनुभयो ।
नेपाल बन्दका कारण विहानै देखि ओखलढुंगाको जनजिवन पनि प्रभावित भएको छ । नेकपा माओवादीलगायतले गरेको बन्दको प्रभाव झापामा पनि परेको छ ।
पाल्पाको जनजीवन पनि पूर्णरुपमा प्रभावित बनेको छ । लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । बजार पसल, शैक्षिक संस्था, सबै ठप्प छन् ।