तराईका २२ जिल्लामा आजदेखि आमहड्ताल

साउन २७, काठमाडौँ  –  सीमांकनका विषयमा विभिन्न स्थानमा आज पनि आन्दोलन जारी रहेको छ । आजदेखि थारु प्रदेशको माग गर्दै तराईका विभिन्न जिल्ला बन्द गरिएको छ । थारु संयुक्त संघर्ष समितिले तरार्इृका २२ जिल्लामा ६ दिने आमहडतालको घोषणा गरेको छ । थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको थारु संयुक्त संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको केन्द्रीय संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ ।
यता सुदुरपश्चिम बन्दको पनि आज सातांै दिन, जनजिवन थप कष्टकर बन्दै गएको छ । अखण्ड सुदुरपश्चिम, हिन्दु राष्ट्र नेपाल हुँदै थरुहट÷थारुवान प्रदेशको माग गर्दै आमहड्ताल निरन्तर लम्बिंदै गएको छ । बन्दका कारण सात दिनदेखि नै यस क्षेत्रका शैक्षिक संस्थाहरु, सरकारी कार्यालय, वित्तिय संघ संस्था, गैरसरकारी संघसंस्था, उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, यातायात सबै ठप्प रहेका छन् ।
यस्तै अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानी सुर्खेतको माग गर्दै आन्दोलनमा उत्रिएका जाजरकोटबासीले हिजो झै आज पनि जाजरकोट बन्द गराएका छन । बन्दका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर भएको छ ।
उता राप्तीलाई टुक्राएको र सल्यानलाई प्रदेश नम्बर ६ मा राखिएको विरोधमा गरिएको सर्वदलिय÷सर्वपक्षिय आमहड्तालको तेश्रो दिन पनि सल्यान ठप्प छ । प्रमुख दलहरुले सुझावको आधारमा सिमांकनको निर्णय सच्याउने प्रतिबद्धता जनाएर आन्दोलन रोक्न आग्रह गरेपनि माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने भन्दै सल्यानमा आमहड्ताल जारि छ । सिमाङकनको विषयलाई लिएर डोल्पा पनि बन्द रहेको छ ।