संविधान सभाको बैठक आज पनि बस्ने

साउन २७, काठमाडौँ  – संविधान सभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि जनताले दिएका सुझाव समेटेर संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले तयार गरेको मस्यौदा प्रतिवेदन माथि छलफल जारी जारी रहने भएको हो ।
मस्यौदा माथि बोल्न नाम टिपाएका सभासदहरुले आफ्नो भनाई राखे पछि आज नै मस्यौदा पारित गरिने संसद सचिवालयले जनाएको छ । प्रस्तावमाथिको छलफलमा भाग लिन १९७ जना सभासद्ले नाम लेखाएकामा हिजो सयजना सभासद्ले आफ्नो भनाई राखेका थिए । उक्त प्रस्तावमाथिको छलफल सकिएपछि संविधानसभाले संविधानको परिमार्जित विधेयक तयार गर्नको लागि संविधान मस्यौदा समितिमा पठाउनेछ ।
यसअघि समितिको विधेयकमा आवश्यक परिमार्जन गर्ने प्रस्ताव सहितको प्रतिवेदन, २०७२ माथि छलफलमा भाग लिँदै सभासद्हरुले आफूहरु पक्ष÷विपक्षमा उभिनु पर्नाको कारण सहितको तर्क प्रस्तुत गरेका थिए ।
संविधानसभाबाट संविधान जारी गर्ने कुरा अत्यन्त जटिल भएकाले प्रमुख राजनीतिक दलबीच सहमतिको साझा दस्तावेजका रुपमा ल्याइएको संविधानको मस्यौदामा अनेकौँ कमजोरी र त्रुटि देखिए पनि त्यसलाई सुधार र परिमार्जन गरेर लैजानुको अब कुनै विकल्प नरहेकामा अधिकांश सभासद्ले जोड दिएका छन् । दलहरुले गरेको ६ प्रदेशको सहमतीमा विरोध जनाउँदै राप्रपा नेपाल र मधेस केन्द्रित दलहरुले हिजोको छलफललाई बहिस्कार गरेका थिए ।