जापानको हिरोशिमामा परमाणु बम हमलाको ७० वर्ष पुरा

साउन २१, टोक्यो – हिरोशिमामा भएको परमाणु बम हमलाको ७० वर्ष पुरा भएको छ । त्यसको सम्झनामा आज जापानमा विशेष कार्यक्रम गरिंदैछ । जापानभर मानिसहरुले हिरोसिमामा परमाणु बम हमला भएको ७०औं वर्षगाँठको अवसरमा एक मिनेट मौनधारण पनि गरेका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेले हिरोसिमाको सम्झनाले सबैलाई निशस्त्रीकरणको लागि काम गर्न प्रेरित गरेको बताउनु भएको छ ।

प्रधानमन्त्री आबेले विश्व शान्तिका लागि सारा विश्व आणविक हतियाररहित बनाउन निरन्तर प्रयत्नरत रहनु जिम्मेवारी र दायित्व दुवै भएको बताउनु भएको छ । आजको औपचारिक संस्मरण समारोहमा प्रधानमन्त्री शिन्जो आबे र हिरोशिमाका मेयर काजुमी माटुसीसँगै जापानका लागि अमेरिकि राजदुत क्यारोलाइन केनेडी उपस्थित थिए ।
हिरोशिमामा स्थानीय समयअनुसार ८ बजेर १५ मिनेट जाँदा घन्टी बजाइएको थियो । ठिक त्यहि समयमा सन् १९४५ को अगष्ट ६ तारिकमा एक अमेरिकी विमानले बम खसाल्दा शहरको मध्य भाग जलेर ध्वस्त भएको थियो । नागासाकी आक्रमणमा कम्तिमा एकलाख ४० हजार मानिसको ज्यान लिएको थियो ।