संसद बैठक आज कार्यसूचिमा प्रवेश नगर्ने

साउन २१, काठमाडौ – प्रमुख विपक्षी एमाओवादीको विरोधले अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । तर आज संसदको नियमित कार्यसूचिमा भने बैठक प्रवेश नगर्ने भएको छ । कांगे्रसका पूर्व सांसद सुर्यप्रसाद प्रधानको निधन भएकाले कार्यसूचीमा प्रवेश नगर्ने भएको हो ।

संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुईकेलले कांग्रेसबाट शोक प्रस्ताव आए शोक प्रस्ताव पारित गरेर बैठक सकिने जानकारी दिनुभयो । हिजो साँझ अन्त्येष्टि गरेकाले आज मात्रै शोक प्रस्ताव संसदमा लैजाने कांग्रेसले बताएको छ ।
आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल गर्ने कार्यसूची रहेको छ । विपक्षी दलले बजेट सच्याउने प्रतिवद्धता नआएसम्म छलफल अघि बढाउन नदिने बताएका छन् । संसदको बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।