राष्ट्रपति र प्रधानमन्त्रीसँग ओली असन्तुष्ट

साउन १९,काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणको विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबाट बाहिर आएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । एमाले संसदीय दलको बैठकमा मंगलबार सम्बोधन गर्दै दलका नेता समेत रहेका अध्यक्ष ओलीले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाको पछिल्ला गतिविधि र अभिव्यक्ति प्रति असन्तुष्टि जनाएका हुन । संविधान निर्माणका लागि प्रमुख राजनीतिक दलहरुबीच भएको सहमति पश्चात राष्ट्रपति यादवले राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गर्दै यसो र त्यसो गर्न निर्देशन दिएकोमा पनि ओलीले आपत्ति जनाए । ओलीले भने, ‘पार्टीलाई निर्देशन दिने कार्य अनुचित मात्रै होइन राष्ट्रपतिको पदीय मर्यादाको विषय पनि होइन ।’

त्यसैगरी प्रधानमन्त्री कोइरालाले सोमबार एमालेको पुरातनवादी सोचाईका कारण संविधान निर्माण कार्यमा ढिलाइ भएको भन्ने समाचारप्रति पनि ओलीले दलको बैठकमा खण्डन गरे । ओलीले भने, ‘एमाले सीमाङ्कन र नामाङ्कन सहितको संविधान जारी गर्न तयार छ तर त्यस विषयमा प्रधानमन्त्रीसँगको कुराकानीमा उहाँ आफै स्पष्ट हुनुहुन्न ।’ संविधान निर्माणको प्रक्रिया अहिले जटिल अवस्थामा आइपुगेको उल्लेख गर्दै ओलीले अहिलेको महत्वपूर्ण विषय नै साउनभित्र संविधान निर्माण गर्नु रहेको बताए ।
आफू प्रधानमन्त्री बन्न हतार गरेको आरोप सत्य नभएको दाबी गर्दै ओलीले भने, ‘केपी ओली अहिले उमेरले ६४ वर्षको भयो र संविधानसभाको कुरा उठेको ६५ वर्ष भयो । नेपालमा संविधानसभाको विषय एकवर्ष ढिलो जन्मेको ओलीलाई प्रधानमन्त्री बनाउन उठेको हैन ।’

बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै ओलीले एमाले पहिले पनि संघीयता, सीमाङकन र नामाङ्कनसहितको संविधान जारी गर्ने पक्षमा भए पनि अरू दल सहमत नभएर १६ बुँदे सहमति गरेको बताए । ‘तर अहिले अरूपनि सहमत भएपछि हामी सबै विषयमा छलफल र सहमति गरी सीमांकन, नामांकन, न्यायपालिका लगायत विवादित सबै विषयमा सहमति गरी साउन मसान्तभित्रै संविधान ल्याउने विषयमा विशेष समितिमा छलफल गरिरहेका छौ,’ उनले भने। यसअघि दलको बैठकमा पार्टीका सभासदहरुलाई सरकारको तर्फबाट प्रस्तुत बजेट असन्तुलित भएको भन्दै त्यसलाई सच्याएर पारित गर्ने सवालमा आफ्ना धारणाहरु राख्न सभासदहरुलाई निर्देशन दिएका थिए ।