महानायक राजेश हमाललाई दलित भनेपछि……

काठमाडौँ – ‘दलित भएकै कारण हामीले इनारबाट कहिल्यै पानी खान पाउँदैनौँ त ?’ धनगढी गाविस–३ नयनपुरकी ममता मलिक (डोम)ले नयाँ पत्रिकासँग यसो भनिरहँदा सोमबार दिउँसोको दुई बजेको थियो ।

उनले थपिन्,‘‘छेउमै इनार छ । तर, पानी लिन नपाएर यतिवेलासम्म खाना पकाएर खान पाएका छैनौँ ।’ सोमबार उनको घरवरपर स्थानीयको भीड लागेको थियो । त्यहाँ उपस्थित भएका अधिकांश ममता र उनका दाजु २१ वर्षीय दीपक मलिकलाई धारे हात लगाइरहेका मात्र थिएनन्, कोही कुट्न खोजिरहेका थिए ।
वर्षौंदेखि खानेपानीमा छुवाछुत भोग्दै आएको मलिक (डोम) परिवार पछिल्लो तीन दिनदेखि ज्यादा तनावमा छ । ‘‘साझा सवाल’ नामको एक टेलिभिजन कार्यक्रमको छायांकनको क्रममा नेपाली चलचित्रका अभिनेता राजेश हमालसँग इनारबाट पानी निकाल्न दलित समुदायका दीपक इनार पुगेपछि सुरु भएको विवाद अझै साम्य भएको छैन ।
सोमबार स्थानीय गैरदलितहरूले उनीमाथि हातपातको प्रयाससमेत गरेका छन् । घरनजिकै इनार भएर पनि मलिक परिवारले अहिलेसम्म आफूले पानी निकालेर खान पाएको छैन । जसका कारण उनको परिवारले दुई किलोमिटर टाढा रहेको इँटाभट्टाबाट पानी ल्याउनुपर्छ । वर्षौंदेखि जातीय विभेद खेपिरहेको मलिक परिवारको दुस्ख छायांकन गर्ने क्रममा साझा सवालका तर्फबाट अभिनेता हमाल मलिकको घर पुगेका थिए ।
उनीसँगै बसेर चिया खाएपछि कुराकानीका क्रममा नजिकै इनार भएर पनि पानी निकालेर खान नपाएको थाहा पाएपछि हमाल उनलाई लिएर इनारसम्म गएका थिए । तर, मलिकले इनारबाट पानी निकाल्न लाग्दा गाउँभरका महिला–पुरुषले इनारलाई घेरा हालेर मलिकलाई रोके । स्थानीयको आक्रोशका अगाडि हमालको केही जोर चलेन ।
पहिले पानी भरेर खान इसारा गरेका हमाल भीडको खबरदारीपछि हच्किए । स्थानीयको घेराबन्दीपछि हमालले सुरुमा एक शब्द निकाल्न सकेनन् । नयाँ पत्रिकासँग दीपकले भने, ‘आफू त वर्षौंदेखि यस्तो खेपेकाले आश्चर्य लागेन, तर राजेश सरले भीडलाई देखेर केही बोल्नै सकेनन् ।
दर्जनौँ चलचित्रमा नायकको भूमिका निभाएर अन्याय, अत्याचार, कुसंस्कार र छुवाछुतलाई पराजित गरेका हमालले त्यहाँ स्थानीयलाई भने सम्झाउने प्रयासमा सफलता पाएनन् । त्यसपछि स्थानीय गैरदलित रामनारायणले निकालिदिएको पानी बोकेर दीपक हमालसँग घर फर्किए । दीपकलाई इनारबाट पानी निकाल्न गैरदलितले मात्र होइनन्, नजिकै रहेका दलित समुदायका मुसहर र राम (चमार)हरूले समेत बाधा पुर्‍याउने गरेका छन् ।
‘बरु स्थानीय रामनारायणले पानी भरेर दियो । पानी भर्ने विषयमा हिरो हमालसँगै केही बेर कुराकानी पनि भयो । तर, स्थानीयले मानेनन् । हामीलाई पानी भर्न नदिने उपल्लो जातका मानिस त छँदै छन्, दलितभित्रकै मुसहर र राम (चमार) हरू लागेपछि हामीले केही गर्न सकेका छैनौँ,’ सोमबार नयाँ पत्रिकासँग उनले भने, ‘गएको वैशाख ४ गते पानी भर्न मेरी आमा जाँदा पानी ल्याउन त दिएनन् नै, गालीगलोज र हप्कीदप्की खेप्नुपर्‍यो ।
कतिपटक प्रहरीकै अगाडि पानी लिन जाँदा पनि हामीमाथि हातपात भएको छ ।’ सोमबार साझ दीपकसँग कुराकानी गरिरहँदा वर्षौंदेखि पीडा खेपेकी उनकी ५५ वर्षीया आमा प्रमिला मलिक भकानिएर रुन थालिन् । रुँदै उनले भनिन्, ‘छोरा त आज ठूलो भयो । म ५५ वर्षकी भएँ । कति दुख भोगेकी छु पानीका लागि ।
घरको दुवै छेउमै इनार छन् । गाउँभरिको सबैजना त्यही इनारबाट पानी खान्छन् । तर, मलाई तीन किलोमिटर परबाट पानी ल्याउनुपर्छ ।’ उनले थपिन्, ‘धेरै तिर्खा लाग्दा पानी लिन इनार गयो भने त्यहाँ रहेकाहरूले पानी भरेर मेरो भाँडोमा हालिदिन्छन् । तर, इनार छुन दिँदैनन् । पुलिस आउँदा पनि पानी भर्न दिँदैनन् । के गर्नु, टाढैबाट ल्याउँछु । पानी त खानैपर्‍यो । पानीविना त बाँच्न सकिँदैन ।’ आजको नयाँ पत्रिकामा खबर छ ।