हिन्दू धर्मलाई कसैले समाप्त गर्न सक्दैनः गृहमन्त्री गौतम

साउन १८, काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले ८० प्रतिशतभन्दा बढी हिन्दू रहेको नेपालको राष्ट्रिय धर्म हिन्दू भएको बताउनुभएको छ ।

बोल बम काँवरिया सङ्घले आइतबार राति सुन्दरीजलस्थित ओखरेनी माध्यमिक विद्यालयमा आयोजना गरेको बोल बम काँवर यात्रा विशेष कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले सो कुरा बताउनुभएको हो ।
“यो देशबाट हिन्दू धर्मलाई कसैले समाप्त गर्न सक्दैन, ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको नेपालबाट कसले हिन्दू धर्म समाप्त गर्न सक्छ ?, धर्मका नाममा मानिस उचाल्ने र पछार्ने काम गरिनुहुन्न, धार्मिक सुधार भने आवश्यक छ”–उहाँले भन्नुभयो ।
उहाँले सबैको अधिकार समेटिएको संविधान आउने भएकाले जनता फुटाउने काममा नलाग्न आग्रह गर्नुभयो । गोकर्णेश्वर नगरपालिका–४ स्थित रामजानकी निम्न मावि नजिकैको ४२ रोपनी सार्वजनिक जग्गा बोल बम धाम निर्माणका लागि भोगाधिकारसहित दिन सरकार तयार रहेको प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । धाम निर्माणका लागि रु ५० लाख आफूले चन्दा मागेर सहयोग जुटाइदिने प्रतिबद्धतासमेत गृहमन्त्रीले गर्नु भयो ।
कार्यक्रममा पूर्वमन्त्री अनिलकुमार झाले ठूला दल मधेसका जनतालाई संवैधानिकरुपमा अधिकार दिन तयार नभएको बताउनुभयो ।
सभासद् डा अमरेशकुमार सिंहले संविधानमा मधेसवासीको अधिकार समेट्न क्रियाशील भएर लागेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष डा उपेन्द्र महतो ,हिन्दू राष्ट्र बचाउ अभियानका सहसंयोजक प्रेमनिधि भारद्वाज, सङ्घका संस्थापक अध्यक्ष छोटेलाल साह, अध्यक्ष रामाज्ञा रौनियार र सल्लाहकार गौतम खनाललगायतका वक्ताले बर्सेनि सुन्दरीजलमा साउन महिनामा लाखौँ बोल बम यात्री आउने भएकाले बोल बम धाम निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धन हुनेमा जोड दिनुभएको थियो ।
आइतबार राति नै सुन्दरीजल आइपुगेका भक्तजन राति १२ बजेपछि स्नान गरी बाग्मती नदीको सुन्दरीमाई मन्दिरमुनिबाट खाली गोडा शुद्ध जल ल्याई आज पशुपतिनाथ मन्दिरमा चढाइरहेका छन् । रासस