मस्यौदामा आएका सुझावमाथि बुँदागत छलफल गरिने चार दल भनाइ

साउन १०, काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चारदलका शीर्ष नेताहरुको बैठकले संविधानको मस्यौदामा जनताबाट आएका सुझाव कसरी समेट्ने भन्ने बारेमा छलफल गरेका छन् । आइतबार बिहान बसेको बैठकले मस्यौदामा आएका सुझावहरुलाई बुँदागत हिसाबले छलफल गरेर त्यसलाई संविधानमा समेट्ने सहमत भएको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

उनका अनुसार सुझावमा आएका शासकीय स्वरुप, कार्यकारी पद प्रत्यक्ष निर्वाचित हुने वा नहुने, धर्म निरपेक्षता, प्रदेशको सिमांकन लगायतका सुझावमा बुँदागत छलफल गर्ने चार दलबीच सहमति भएको छ ।

यसको लागि सबै पार्टीका सचेतकले पहल गर्ने रावलले जानकारी दिए । उनका अनुसार बैठकमा साउन मसान्त भित्र जसरी पनि संविधान जारी गर्ने गरी सुझावहरु माथि छलफल गरिने सहमति भएको छ । उनले भने, ‘सबै दलका नेताहरुले विवादित तथा सुझाव आएका विषयमा छलफल गर्ने र त्यसलाइ सम्बोधन गर्ने सहमति भएको छ । सम्बोधन हुन नसकेका विषयलाई अभिलेख राख्ने कुरा भएको छ ।’

शनिबार साँझ बसेको चार दलका शीर्ष नेताको बैठकले असन्तुष्ट पक्षसँग अधिकतम सहमतिको लागि प्रयास गर्ने निर्णय गरेको थियो । त्यसै बिषयमा थप छलफलका लागि आजको बैठक बोलाइएको थियो ।

आजको बैठकमा चार दलका शीर्ष नेतासहित दोस्रो र तेस्रो तहका नेताहरु पनि सहभागी थिए ।

साउन मसान्तभित्र संविधान निर्माणको प्रतिवद्धता जनाएका प्रमुख चार दलले कार्यतालिका निर्माणको जिम्मा सभामुख सुबासचन्द्र नेम्वाङलाई दिएका छन्